काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुले साउन महिनामा ४ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
निर्जीवन बीमकहरुको पहिलो महिनाको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ६.८८ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
गत आर्थिक वर्षको सुरुवातमा नेपालको अर्थतन्त्र धरासय बन्दा निर्जीवन बीमकहरुको व्यवसाय सोचेजस्तो बृद्धि हुन सकेको थिएन । बैकिङ क्षेत्रमा तरलता संकटसँगै विभिन्न उद्योग तथा कलकारखाना वा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा देखिएको थियो ।
तर पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार देखिँदै जाँदा बीमकहरुले आफ्नो व्यवसाय सुधार्न सफल भएका छन् । गत आर्थिक वर्षको तुलनामा अधिकांश निर्जीवन बीमा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् । गत आवको तुलनामा चार कम्पनीको मात्रै व्यवसाय घट्न पुगेको छ भने बाँकी १० कम्पनीले निर्जीवन बीमा व्यवसाय उल्लेख्य बढाएका छन् ।
साउन महिनामा सर्वाधिक व्यवसाय भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रो बढी व्यवसाय भित्र्याउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
यसका साथै शिखरले ३६ करोड ८८ लाख, हिमालयन एभरेष्टले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख, आइजीआई प्रुडेन्सियलले ३० करोड ६२ लाख, दि ओरियन्टल इन्स्योरेन्सले २९ करोड १० लाख, नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख, युनाइटेड अजोडले २५ करोड ४१ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख, नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख, सानिमा जिआइसीले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
कुनको कति बढ्यो व्यवसाय ?
गत आवको यसै अवधिसम्मको तुलनामा सर्वाधिक व्यवसाय बढाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले १०३.३८ प्रतिशतले बीमाशुल्क आर्जन बढाएको छ ।
गत आवको साउन महिनामा १४ करोड १९ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको नेपाल इन्स्योरेन्सले चालु आवको पहिलो महिनामै २८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्सले ४०.४६ प्रतिशत, नेको इन्स्योरेन्सले २७.५९ प्रतिशत, नेशनल इन्स्योरेन्सले १६.१० प्रतिशत, सलिकोले १४.५१ प्रतिशत, शिखरले ९.४९ प्रतिशत, सिद्धार्थ प्रिमियरले ६.६५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ३.७१ प्रतिशत, सानिमा जिआइसीको २.८२ प्रतिशत र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ०.७१ प्रतिशतले व्यवसाय बढेको छ ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय घट्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । गत आवको पहिलो महिनामा २५ करोड ६ लाख रुपैयाँ प्रिमियम भित्र्याएको प्रभुले चालु आवको पहिलो महिनामा जम्मा १० करोड ५४ लाख रुपैयाँ मात्रै व्यवसाय भित्र्याएको छ । यसर्थ कम्पनीको व्यवसाय ५७.९५ प्रतिशतले घटेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको १३.५४ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.१३ प्रतिशत र युनाइटेड अजोडको ३.९५ प्रतिशतले व्यवसाय घटेको छ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                