काठमाण्डौ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सका रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिनेछ ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले २०७६ पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सोभन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ । 

नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए पनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।