काठमाण्डौ । पूँजीवृद्धिका लागि हकप्रदको भारीले लगानीकर्तालाई कसरी थिचिरहेको छ भन्ने कुरा पछिल्ला दिनहरुमा बैंक तथा बित्तीय संस्थाहरुले सेयर नबिकेर धमाधम प्रकाशित गरिरहेका लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचनाले समेत पुष्टि गर्दछ । प्रत्येक दिनजसो निकै ठूलो संख्यामा सेयर लिलामीमा आएको सूचनाहरु प्रकाशित हुन थालेको छ । यसले लगानीयोग्य पूँजीको चरम अभावलाई समेत संकेत गर्छ भने राष्टबैंकले पूँजीवृद्धिका लागि बैंक तथा बित्तीय संस्थाहरुलाई हिँड्न दिएको गलत बाटो समेत प्रतिबिम्बित हुन्छ । 

ठूलादेखि साना बित्तीय संस्थाहरुले समेत हकप्रद नबिकेर हैरानीमा परेपछि लिलाम बढाबढबाट बिक्री गर्ने सूचना निकालिरहेका हुन् । यस्तो हाहाकारको अवस्थामा लगानीकर्ताले बठ्याईपूर्वक अक्सन मार्केटमा दाउ लगाउने हो भने राम्रा कम्पनीको सेयर सोच्दै नसोचेको मूल्यमा समेत पाउन सक्छन् । 

यही क्रममा बुधबार गण्डकी विकास बैंकले समेत अक्सनको सूचना प्रकाशित गरेको छ । यो बैंकले चैत १ गतेदेखि संस्थापक समूहतर्फ १ लाख ३० हजार ७ सय १६.९० कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख २२ हजार १ सय ८४.६० कित्ता लिलामीबाट बिक्री गर्ने भन्दै शिलबन्दी बोलपत्र आह्वान गरेको छ । इच्छुकले चैत ८ गतेभित्र प्रभू क्यापिटल लिमीटेडको कमलादीस्थित कार्यालय, गण्डकी विकास बैंकका केन्द्रीय र शाखा कार्यालयहरु र प्रभूू बैंकका नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो बैंकको संस्थापक समूहतर्फको सेयर खरीदका लागि भने विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । 

यसैगरी, रिलायन्स फाइनान्स लिमीटेडले समेत ६ लाख ५२ हजार ९ सय ४०.६० कित्ता सेयरको लिलाम बिक्री खुलाएको छ । यो कम्पनीले संस्थापक समूहतर्फको ५ लाख ४२ हजार ३ सय १४.५२ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख १० हजार ६ सय २६.०८ कित्ता सेयर लिलाम बढाबढबाट बिक्री गर्ने भन्दै शिलबन्दी बोलपत्र आह्वान गरेको हो । यो कम्पनीको सेयर खरीदका लागि इच्छुकले चैत १ गतेदेखि  ८ गतेसम्म सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय, रिलायन्स फाइनान्सका विभिन्न शाखा कार्यालयहरु र सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखाबाट आवेदन दिनसक्ने जनाइएको छ । यो कम्पनीको संस्थापक सेयर खरीदका लागि भने सर्वसाधारणले समेत आवेदन दिनसक्नेछन् । 

यसैगरी, प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडले पनि फागुन २८ गतेदेखि १२ हजार ५ सय ३ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । यो कम्पनीले गत पुस १६ गतेदेखि माघ २१ ग्तेसम्म ३० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको कित्ता बोलकबोलबाट बिक्री गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताले आगामी चैत ५ गतेभित्र बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । इच्छुकले एनआइसी एशिया क्यापिटलको मुख्य कार्यालय, प्रूडेन्सियल इन्स्योरेन्सका सबै शाखा कार्यालयबाट बोलपत्र दर्ता गराउनसक्नेछन् । 

सिभिल पनि बेच्दै
सिभिल बैंकले निकै ठूलो कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले केही समयअघि हकप्रद सेयरको बिक्री खुल्ला गरी आवदेन मागेकोमा निकै ठूलो कित्ता सेयर बिक्री नभएपछि बोलकबोलबाट बिक्री गर्न लागेको हो । 

यो बैंकले फागुन २३ (आज)देखि संस्थापक समूहतर्फको ३२ लाख ४४ हजार ६००.२५ कित्ता सेयर र सर्वसाधारण समूहतर्फको ९ लाख ९४ हजार ३ सय ५८.७५ कित्ता सेयर बोलकबोलबाट बिक्री खुलाएको हो ।

यो बैंकको साधारण समूहतर्फको सेयर खरीद गर्न चाहने जोकसैले चैत १ गतेभित्र के कतिमा सेयर खरीद गर्ने हो मूल्य समे तोकी आवेदन दिनसक्ने बताइएको छ । संस्थापक सेयर अक्सनबाट खरीदका लागि चैत १ गतेभित्र नै बैंकका हाल कायम संस्थापक सेयरधनीले आवेदन दिनसक्नेछन्।

बोलकबोलमा सहभागी हुनका लागि बोलपत्र आवेदन लक्ष्मी क्यापिटलको बानेश्वरस्थित कार्यालय र लक्ष्मी बैंक लिमीटेडका उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट समेत फारम पाइने तथा बुुझाउन सकिनेछ ।