काठमाण्डौ । संघीय राजधानी काठमाण्डौको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जनालाई कोरोना संक्रमण भएको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले आयोगमा कार्यरत १८२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुने १५ मध्ये धेरै सुरक्षाकर्मीहरु रहेका छन् । कोरोना पोजिटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखी उनीहरुको सम्पर्कमा आएकाहरु पत्ता लगाउने काम स्वास्थ्य मन्त्रालय मातहतको टोलीले गरिरहेको बताइएको छ । 

यसैबीच, स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार साँझसम्म प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा कार्यरत सबैको स्वाब संकलन गर्ने योजना बनाएको समेत बताइएको छ । प्रमको सरकारी निवास तथा अन्य विशिष्ट व्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर स्वाब संकलन थालिएको महाशाखाले जनाएको छ । 

पछिल्लो समय सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण भूसको आगो झै फैलिरहेको छ । समूहमा रहेर काम गर्ने सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मी समेत जोखिममा छन् ।