-प्रकाश बञ्जारा
यूएई । नेपाली सांगीतिक क्षेत्रका मेगा स्टार मानिएका युवा गायक राजेश पायल राई आफ्ना फ्यानलाई एकदिने खुशी दिन संयुक्त अरब ईमिरेट्स युएई आउने भएका छन् । 

युएईमा मन बचन र कर्मले समाज सेवा गरौं भन्ने नारासहित स्थापना भएको खोटाङ्ग जिल्लाबासीहरुको संस्था खोटाङ्ग सेवा समाज(खोसेस)को निमन्त्रणामा राई इज किङ्ग तथा मेगा स्टारका नामले परिचित राई युएई आउन लागेका हुन् । 

युएई आएसँगै राईले खोसेसको आयोजनामा यही अगस्ट २४ तारिख अबुधावीको मुसाफास्थित के एम हाइपरमार्केट पछाडि रहेको मलेयाली हलमा हुने बृहत साँस्कृतिक धमाका कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् ।  

संस्थाले आफ्नो पहिलो सांस्कृतिक धमाका स्वरुप राजेश पायल राई सहित अर्का चर्चित युवा गायक जिबीहाङ राईलाई पनि आमन्त्रण गरेको बताएको छ । आयोजकले बताएअनुसार अन्य स्थानीय स्तरबाट युएईमा मनोरञ्जन प्रदान गर्दै आएका झण्डै २ दर्जन कलाकारको बेजोड प्रस्तुती समेत कार्यक्रममा रहने छ । 

युवा गायकमध्येनै निकै लोकप्रिय गायक राजेश पायलले केही समयअघि आफ्नो फेसबुकमा लाईभ आउँदै आफू खोसेसको कार्यक्रमका लागि युएई आउन लागेको खुलाएका थिए । उनी आउने खबरसँगै राईका फ्यानहरु उत्साहमा बसेका छन् । उता, आयोजक संस्थाले पनि दर्शकहरुलाई कार्यक्रममा आउन सहज होस भन्ने हेतुले युएईका बिभिन्न शहरहरुबाट कार्यक्रम स्थलसम्म आउन यातायातको व्यवस्था समेत गरेको बताएको छ ।

संस्थाको अधिकारी रहेका हिमाल गुरुङ्गले बिजशालासँगको कुराकानीमा भने “कार्यक्रममा आउने चाहाना भएका कसैलाई पनि  सवारी वाधक नहोस भनेर हामीले युएईका प्रमुख शहरबाट अबुधवीसम्म आउन गाडीको व्यवस्था गरेका छौं, इच्छुकले गाडी तालिकाका लागि आयोजकलाई सम्पर्क गर्न सक्नुहुन्छ ”। गुरुङ्गकाअनुसार युएईको मुख्य शहरहरु दुवई, रासअलखेमा, अजमान, अलएन, सारजाहा लगायतका ठाउँबाट कार्यक्रम स्थल जान सवारी साधनको व्यवस्था गरिएको हो ।