काठमाण्डौ । रातारात कुनै खेल वा उलटपुलट भएन भने आगामी आइतबार(जेठ २१ गते) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनेछन् । माओवादीसँगको सत्ता सहकार्यको पूर्व सहमति कार्यान्वयनमा दुवै पक्ष चुकेनन् भने देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा आइतबार बेलुकासम्म मुुलुुकले पाउनेछ । 

राष्टपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार सहमतीय सरकारको संभावना नरहेपछि अब प्रधानमन्त्रीको गणितीय अभ्यास हुने निश्चित भएको हो । संसद सचिवालयले जेठ २१ गते आइतबारका लागि प्रधानमन्त्री निर्वाचनको कार्यसूचि शुक्रबार सार्वजनिक गरेको छ । 

सूचना अनुसार शनिवार प्रधानमन्त्रीको पदमा उम्मेद्वारी पर्नेछ भने आइतबार बिहान ११ बजेदेखि व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनका लागि मतदान हुनेछ । 

हाल व्यवस्थापिका संसदमा सदस्यको संख्या ५ सय ९३ रहेको छ । यसमध्ये प्रधानमन्त्री बन्नलाई २ सय ९७ सांसद भए काफी हुन्छ । सत्ता गठबन्धनसँग अहिले ३ सय ११ भोट रहेको छ । यहीकारण समेत देउवा आफू प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका छन् । संसदमा कांग्रेसको २०७, माओवादी केन्द्रको ८२, नेपाल लोकतान्त्रिक फोरमको १७, नेकपा संयुक्तको ३, अखण्ड नेपालको १ र समाजवादी जनता पार्टीको १ सिट रहेको छ । राप्रपा पनि सरकारमा आउने संभावना रहेको र ऊसँग ३७ सिट रहेकाले सरकार गठन अझ सहज हुनसक्नेछ । 

यसैबीच, प्रधानमन्त्रीको निर्वाचन कार्यसूचि सार्वजनिक भएसँगै देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको चर्चा समेत सुरु भएको छ । माओवादी केन्द्रले कृष्णबहादुर महरा र वर्षमान पुनको २ सदस्यीय कार्यदललाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । पार्टीभित्रको गुटहरुको व्यवस्थापन मिलाई सरकारमा सन्तुलित प्रतिनिधित्व गराउन कांग्रेसको तर्फबाट मन्त्री छान्ने कार्यदलमा रमेश लेखक र विमलेन्द्र निधि सहभागी छन् । 

स्रोतहरुको भनाईलाई आधार मान्ने हो भने स्वास्थ्य क्षेत्रमा निकै राम्रो काम गरेर चर्चा कमाएका कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापा अबको सरकारमा दोहोरिने संभावना न्यून छ । कांग्रेसभित्रको गुटहरुका लागि हुने भागबण्डाको असर उनलाई पर्ने देखिन्छ । उपप्रधानसहित राम्रो मन्त्रालय पाए थापा समूहका कमाण्डर कृष्ण सिटौला आफैं सरकारमा जाने तयारीमा छन् । उनले नपाए यसपटक गगनलाई रोकेर भीमसेनदास प्रधानलाई पठाउने बताइएको छ । कांग्रेस स्रोतका अनुसार देउवा सरकारमा मन्त्री रमेश लेखक, उद्योगमन्त्री नवीन्द्रराज जोशी दोहोरिने संभावना छ । कांगे्रसबाट अर्थमन्त्रीको रुपमा महेश आचार्यलाई पठाउने तयारी गरिएको छ । तर, अर्थमा अहिलेको परराष्ट्रमन्त्री प्रकाशशरण महतले समेत दाबी गरे पनि उनी दोहोरिने संभावना छैन । 

उता, माओवादीबाट भने कृष्णबहादुर महरा र जनार्दन शर्माको दोहोरिने संभावना छ । तर, दुवै नेताहरुले गृहमन्त्रालयमा तँछाडमँछाड गरिरहेकोले टोपबहादुर रायमाझीले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्ने संभावना पनि उत्तिकै छ । कांग्रेससँगको पूर्व सहमति अनुसार अब गठन हुने सरकारमा गृहमन्त्रालय माओवादीले पाउनेछ भने अर्थमन्त्रालय कांग्रेसको भागमा पर्नेछ । गृहमा महरा, शर्मा र रायमाझी दाबी गरिरहेका छन् । गिरिराजमणि पोखरेलले समेत उपप्रधानमन्त्रीसहित गृह लिएर सरकारमा जानुुपर्ने माग गरिरहेका छन् ।