काठमाण्डौ । एमाले र विभिन्न शक्तिकेन्द्रहरुको खेललाई पन्छाउँदै अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ । 

उनले व्यवस्थापिका संसदले प्रकाशन गरेको कार्यसूचि अनुसार समयमै प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । सो क्रममा उनलाई प्राप्त समर्थनले समेत उनको सरकारको पक्षमा स्पष्ट बहुमत देखिएको छ । 

प्रधानमन्त्री पदका लागि देउवाले आज बिहान ११ बजेर ३० मिनेट जाँदा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल छन् भने समर्थकहरुमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादीका प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशी छन् । 

उम्मेद्वारी दिएकाहरुको नामावलीको अन्तिम सूचि आजै साढे ४ बजे प्रकाशित हुने र प्रधानमन्त्रीका लागि निर्वाचन भोलि आइतबार ११ बजेबाट मतदान प्रक्रियाको सुरुवात गर्ने संसदको कार्यसूचि छ । 

स्पष्ट बहुमत
प्रधानमन्त्रीका लागि अन्तिम नामावली प्रकाशन नहुँदै देउवाको पक्षमा स्पष्ट बहुमत देखिएको छ । हाल संसदमा सदस्यहरुको संख्या ५९३ रहेको छ । यो हिसाबले सामान्य बहुुमतका लागि देउवाको पक्षमा २९७ सांसदको समर्थन भए पुुग्छ । कांग्रेससँग २०६, माओवादीसँग ८१ र फोरम लोकतान्त्रिकसँग १६ सिट छ । यी ३ दलको समर्थन नै देउवाका लागि प्रधानमन्त्री बन्न काफी छ । देउवालाई समर्थन गर्ने नेकपा संयुक्तसँग ३, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दल लगायतको सिट जोड्दा देउवाको पक्षमा ३०८ सांसद स्पष्ट देखिएका छन् । देउवालाई राप्रपाको समेत समर्थन आउनसक्ने संभावना छ, यसो भयो भने उनी झनै सुविधाजनक अवस्थामा हुनेछन् ।