काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ १०.५४ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २१ करोड ६९ लाख रहेको यस्तो नाफा बढेर २३ करोड ९८ लाखको उचाईमा पुगेको हो । 

बैंकले खूद नाफातर्फ भने ४९.७९ प्रतिशतको छलाङ हानेको छ । अघिल्लो वर्ष २४ करोड १ लाखमा सीमित यस्तो नाफा बढेर ३५ करोड ९७ लाखको  उचाईमा पुगेको हो । 

बैंकले संचालन मुनाफातर्फ ६५.३१ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष ३० करोड ९० लाखमा सीमित यस्तो नाफा बढेर ५१ करोड माथि पुगेको छ । 

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीमा ६०.६१ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष ६८ करोड ३६ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ९ करोडको उचाईमा पुगेको हो।

समीक्षा अवधिमा बैंकले ४३ अर्ब ८ करोड निक्षेप संकलन गरी तथा २ अर्ब २४ करोड सापटी लिई ४३ अर्ब ५५ करोड बढी कर्जा परिचालन गरेको छ ।

बैंकले निक्षेप १६.५७ प्रतिशत, कर्जा २६.९४ प्रतिशत र सापटी २०४.६६ प्रतिशतले बढाएको देखिएको छ । 

बैंकको अघिल्लो वर्ष २ अर्ब ४५ करोडमा सीमित रिजर्बकोषको आकार बढी यो वर्ष २ अर्ब ७१ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा ५४.३५ प्रतिशतले चुक्तापूँजी बढाएको बैंकले वार्षिकीकृत प्रतिसेयर आम्दानी ८.०३ प्रतिशतले वृद्धि गरी ८ रुपैयाँ ३४ पैसाबाट बढाई ९ रुपैयाँ १ पैसाको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०९ गुणा कायम भएको छ ।