काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । 

नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो । 

सोमबार अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्तामूल्य रु.१०० कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको अजोडले जनाको छ । 

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३०,००,००० कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३०,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७०,००,००० कित्ता शेयर समेत गरी जम्मा १,००,००,००० कित्ता शेयर वितरण भई स्टक एक्सचेञ्जमा सूचीकरण भएको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।