-सन्तोषी अधिकारी 
काठमाण्डौ । गत वर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पले भक्तपुर जिल्लाका विभिन्न वस्तीहरु खण्डहर बने । भूकम्पले तहसनहस पारेको १ वर्ष बितिसक्दा पनि अझै भग्नावशेषहरु उठाइएका छैनन् ।

पुनः निर्माणमा सरकारले सहयोग गर्ला भन्ने आशामा बसेका कतिपय भूकम्पपीडित अहिलेसम्म पनि अस्थायी त्रिपालमै रात कटाइरहेका छन् । भूकम्पले अत्यधिक क्षति पु¥याएको भक्तपुरको दत्तात्रेय क्षेत्रमा एक वर्षअगाडिसम्म बाक्लो बस्ती थियो । तर हाल यो बस्ती निकै उराठलाग्दो देखिएको छ ।  

घर भत्किएर उठिबास भएका भूकम्पपीडितले नयाँ घर बनाउनु त परै जाओस् भत्किएका घरको भग्नावशेष समेत हटाउन सकेका छैनन् । सरकारले समेत खण्डहर बस्तीको भग्नावशेष उठाउन कुनै पहल नगरेको स्थानीयको गुनासो छ । जसका कारण भूकम्प पीडितहरु टहरो बनाएर समेत बस्न सक्ने अवस्थामा छैनन् । उनीहरु सरकारले दिने भनी घोषणा गरको २ लाख रुपैयाको आशमा छन् । त्यो रकम कहिले हात पर्ला भनि उनीहरु दिन गन्दै बसेका छन् ।

के उनीहरुको सपना पूरा गर्न सरकार सक्षम छ त ? हुन त गत सोमबारदेखि  शीर्ष दलका नेताहरुले देशैभर पुनःनिर्माणका लागि भन्दै विभिन्न सम्पदाहरुको शिलान्यास गरेका छन् । तर पनि सरकारले थालनी गरेको काम आफूहरुको टहरोमा कहिले आइपुग्ला यसै भन्न सक्ने अवस्थामा उनीहरु छैनन् । 

त्यसो त अर्थिक अवस्था अनुसार सबैको समस्या फरक–फरक छ । आफैं केही गर्नसक्ने हैसियत भएकाहरु सरकारको आश गर्न छाडेर घर निर्माणमा लागेका छन् । तर आयस्रोेत केही नभएका भूकम्प पीडितहरु भने सरकारको सहयोगको झिनो आशामा छन् । विभिन्न संघ–संस्थाले तत्कालका लागि दिएको केही सहयोग र सरकारले दिएको राहात रकम १० हजार बाहेक पीडितहरुले अरु केही पाएका छैनन् । एक वर्षअघि विभिन्न संस्थाले दिएको अस्थायी त्रिपालकै भरमा रात काटिरहेका भूकम्प पीडितको दैनिकी कस्तो होला ? घामपानी, हावाहुरी, जाडो कटाएर बसेका भूकम्पपीडितले अब शुरु हुने वर्षा कसरी कटाउलान् ? यो संवेदनशील बिषयमा सरकार र सरोकारवाला गम्भीर देखिएका छैनन् । 

भूकम्पले अत्यधिका क्षति पु¥याएको अर्को स्थान हो, काठमाण्डौँको साँखु । एक वर्षअघि भूकम्पले घरबार गुमाएका साखुबासी अहिलेसम्म पनि पीडा र व्यथाबाट नै गुज्रिरहेका छन् । राज्यको उपस्थितिको आश गरेका उनीहरु एक वर्षको अवधिमा निराशा मात्र पाएपछि अब स्थानीय स्तरमा नै पुनःनिर्माणको अभियानमा लाग्ने योजनामा छन् ।

भूकम्पको एक वर्षपछि काठमाण्डौको साखँु पुग्दा त्यहाँका भूकम्पपीडितको समस्या जस्ताको त्यस्तै थियो । एक वर्षको यो अवधि कसरी बित्यो भन्ने सम्झना समेत गर्न चाहदैनन् उनीहरु । किनकी उनीहरुको एक वर्षे कष्टपूर्ण अवधि बिर्सनलायक थियो । त्यसैले त साँखुबासीको आखाँमा आशु अझै थामिएको छैन । उनीहरु गत वैशाख १२ लाई कहिले सम्झन चाहँदैनन् । राजधानीमै त भूकम्प पीडितको  अवस्था यति दयनीय छ भने विकट क्षेत्रका भूकम्पपीडित के गर्दै होलान् ? सबैका लागि सोचनीय बनेको छ ।