काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अझै बिक्री हुन सकेको छैन । 

कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिन बितिसके पनि सबै कित्ता आइपीओ अझै बिक्री हुन नसकेको हो । 

कम्पनीको आइपीओमा हालसम्म १ लाख ६७९ आवेदकबाट ८९ करोड २१ लाख ३८ हजार मूल्य बराबरको मात्र आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यसको अर्थ सोमबारसम्म यो कम्पनीको ८९ लाख २१ हजार ३८० कित्ता आइपीओ बिक्री भइसकेको छ । 

यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गरेको हो । 

यसको अर्थ करिब ४ लाख कित्ता अझै बिक्री हुन सकेको छैन । 

आइपीओमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन पाइनेछ । तर, यो भन्दा अगाडि नै माग गरे अनुसार आवेदन परेको खण्डमा आवेदन लिने काम बन्द हुनेछ ।

विज्ञहरुले यस्ता कमजोर कम्पनीको आइपीओमा लगानी गर्नु भन्दा नगर्नु नै उत्तम हुने राय सुरुवातदेखि नै व्यक्त गरिरहेका छन् । तर, लगानीको निर्णय लगानीकर्ता स्वयम्ले बुझेर लिनु चाहि उत्तम विकल्प हुनेछ । 

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।