काठमाण्डौ । बोलीमा धेरैले नयाँ नेपालको रटान लगाउँछन । नयाँ नेपाल बनाउनेहरुको सोंच पनि नयाँ हुनुपर्छ भनेको पनि कतै कतै सुनिन्छ । अझ सरकार हाँक्ने तहमा बसेका मन्त्री हुन् वा उच्च तहका कर्मचारी, उनीहरुमा ढिलासुस्ती, अल्छीपन, गैरजिम्मेवारीपन हुनुहुँदैन । तर यहाँ त गफको विषय मात्र हो नयाँ नेपाल । नयाँ नेपालको मन्त्रीपरिषदमा मन्त्री बनेका र यहाँको ब्यूरोक्रेसीको उच्च तहमा रहेका कर्मचारी सबै पुरानै ढर्रामा चलिरहेका छन् । पुराना सोंच र गैरजिम्मेवारहरु सरकार तथा कर्मचारीतन्त्रको बागडोर सम्हाल्ने ठाउँमा हुँदा कतिपय जिम्मेवारलाई भने तनाव हुने गरेको छ । सायद यस्तै दिक्दारी र हैरानीमा परेको व्यवस्थापिका संस्दको एक समितिले मन्त्री र सचिवलाई लगाउन प्रधानमन्त्री र मुख्यसचिवलाई नै गुहार्नु परेको छ । 

नयाँ नेपालका पुरानो ढर्रामा चल्ने गैरजिम्मेवार मन्त्री र सचिवलाई तह लगाउन प्रधानमन्त्री र मुख्यसचिवलाई नै लिखित गुहार गर्ने समिति हो व्यवस्थापिका संसदको वातावरण समिति । सो समितिले आमन्त्रण गरिएका विभागीय मन्त्री र सचिव बिना जानकारी पटक पटक बैठकमा अनुपस्थित भएपछि हैरानीमा परेको समितिले सोमबार आवश्यक निर्देशनका लागि भन्दै प्रम र मुख्यसचिव गुहारेको छ । 

समितिको सोमबारको बैठकमा पनि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा र मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई आमन्त्रण गरिएको थियो । विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रममाथि छलफल गर्ने बैठकको कार्यसूची तय भए पनि उनीहरु दुवैजना बिनाजानकारी समितिको बैठकमा अनुपस्थित भइदिए । यसअघि समेत उनीहरुले यस्ता बैठकमा सहभागिता जनाएका थिएनन् । धेरैपटक अनुरोध गरेर हात जोड्दा समेत मन्त्री तथा सचिव नआएपछि वाक्क बनेका समितिका अधिकारीले दुवैका नेतृत्वकर्तालाई गुहारेका हुन् ।

मन्त्री र सचिवको अनुपस्थितिले समितिको काम कारबाहीमा बाधा पर्न गएको र सोही कारणबाट समितिको सोमबार र अन्य दिनको बैठक पनि स्थगन गर्नुपरेको व्यहोरा खुलाएर समितिले प्रधानमन्त्री र मुख्य सचिवलाई पत्राचार गर्ने निर्णय गरेको स्रोतले बताएको छ । 

मन्त्री र सचिव बैठकमा नआएको बारेमा आवश्यक निर्देशनका लागि प्रधानमन्त्री र मुख्य सचिवलाई जानकारी गराउने निर्णय गरेको समिति एक सदस्यले बताएका छन् । 

यस्ता अटेरी मन्त्री र सचिवलाई प्रधानमन्त्री र मुख्य सचिवले लाइनमा ल्याउने हुन् या होइनन्, त्यो हेर्न समितिको अर्को बैठकसम्म कुर्नैपर्ने हुन्छ ।