काठमाण्डौ । सेवा बिस्तारमा आक्रामक बन्दै आएको एनआइसी एशिया बैंकले अत्यधिक खर्चको व्यवस्थापन गर्दै आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफा बढेको रिपोर्ट सार्वजनिक गरेको हो ।  

बैंकले मंगलबार नेपाल राष्ट्रबैंकले गरेको नयाँ व्यवस्था अनुसार नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गरेको हो । योसँगै यो बैंक एनएफआरएस विधिबाट वित्तीय विवरण प्रकाशित गर्ने देशकै पहिलो बैंक समेत भएको छ । 

एनआइसी एशियाले समीक्षा अवधिमा १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा एनआइसी एशिया बैंकले १३ अर्ब २९ करोड रुपैयाँ ब्याजबाट मात्र आम्दानी गरेको छ । तर, आम्दानीसँगै ब्याज खर्च पनि ९ अर्ब ३३ करोड पुगेपछि खूद ब्याज आम्दानी ३ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष खूद ब्याज आम्दानी २ अर्ब ५३ करोड रुपैयाँ मात्र थियो । 

बैंकले १ अर्ब ९४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब २५ करोडको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा निकै धेरै शाखा बिस्तार गरेको बैंकले १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ७४.४० प्रतिशत र कर्जातर्फ ६६.५२ प्रतिशतको छलाङ हान्न बैंक सफल बनेको छ । 

बैंकको अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब १७ करोडमा सीमित रिजर्ब कोषमा केही बढोत्तरी भई ४ अर्ब १९ करोड पुगेको छ । 

यो अवधिमा चुक्तापूँजीमा झण्डै २० प्रतिशत वृद्धि भए पनि नाफा भने ५.६७ प्रतिशतले मात्र बढ्दा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २१.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी केही घटी १८.९४ रुपैयाँ कायम भएको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.६८ गुणा कायम भएको छ ।