काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनापछि लामो दूरीका यातायातका साधन सञ्चालनमा आएको छ।

गत असोज १ गतेबाट लामो दूरीको यातायातका साधन सञ्चालनमा आएसँगै उपत्यकाबाट बाहिरिने र भित्री यात्रुको चाप बढेको छ। पछिल्लो एक साताको अवधिमा बाहिरी जिल्लाबाट उपत्यकामा १ लाख बढी मानिस भित्रिसकेका छन् भने २५ हजारको हाराहारीमा उपत्यबाट बाहिरिएका छन्।

नेपालको महान चाड दसैँ पनि नजिकिँदै गर्दा मानिसको चहलपहल बढेको छ। 

यसैबीच यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परेमात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै सबैखाले लामा तथा छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको हो।

सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नैपर्ने भए पनि सुरक्षित रहेर मास्क र सेनिटाइजर प्रयोग गरेरमात्र यात्र गर्न सुझाव दिएको छ। 

यसैगरी सार्वजनिक होटल तथा खाजा घरहरुमा भीडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै विभागले लामो दूरीको यात्रामा खाजा तथा नास्ता आफ्नै घरबाटै प्याकिङ गरेर हिँड्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ। राजमार्गमा रहेका होटल तथा रेस्टुराँहरुलाई पनि सुरक्षित रही यात्रुलाई स्वस्थ खाना तथा नास्ताको प्याकिङको व्यवस्था गरिदिनसमेत विभागले निर्देशन दिएको छ। 

यस्तै होटेल तथा रेस्टुराँ, सवारीसाधनका सञ्चालकहरु, सवारीचालक, सहचालक र यात्रु सबैले आफू पनि सुरक्षित रहौँ र अरुलाई पनि सुरक्षित राखौँ भन्ने मान्यताका साथ सरकारले निर्धारण गरेअनुसारको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरी सुरक्षित यात्रा गर्न गराउन विभागले आग्रह गरेको छ।