काठमाण्डौ । दक्षिणी अमेरिकी देश भेनेजुएलामा महङ्गीले आकाश छोएको छ । यही क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले यो वर्षको अन्तसम्म महङ्गी दर १० लाख प्रतिशतसम्म पुग्नसक्ने आशंका व्यक्त गरेको छ । यस्तो आशंकाको कारण भनेको भेनेजुएलाको सरकारले आफ्नो बजेट पूरा गर्ने भन्दै धमाधम नोट छपाईको काम गरिरहेको छ । 

भेनेजुएलाको महङ्गी कतिसम्म बढेको छ भन्ने बिषयको एउटा उदाहरण समेत मिडियामार्फत सार्वजनिक भएको छ । भेनेजुएलाका एक विश्वविद्यालयका प्राध्यापकले आफ्नो जुत्ताको पूरा मर्मत गर्नका लागि मात्रै आफ्नो चार महिनाको तलब बराबरको रकम २० अर्ब बोलिभार(करिब साढे ६ लाख रुपैयाँ) दिनुपर्यो । 

इन्टरनेशनल मनिटरी फण्डमा पश्चिमी गोलाद्र्ध विभागका अध्यक्ष अलेजान्ड्रो बर्नरले भेनेजुएलाको यो आकाश छुने महङ्गीको तुलना सन् १९२३ मा जर्मनी वा २००० को दशकको अन्ततिर जिम्बाबेको महङ्गीसँग गरिएको छ । उनले सन् २०१८ मा भेनेजुएलाको अर्थव्यवस्था १८ प्रतिशतले घट्ने अनुमान समेत गरेका छन् । तेल उत्पादनमा जारी भारी गिरावटका कारण त्यहाँको अर्थतन्त्र दोहोरो अंकले घट्नेवाला छ ।

बर्नरले आफ्नो एक ब्लगमा लेखेका छन्–‘आर्थिक गतिविधिमा गिरावट, आकाश छुने महङ्गी, तथा सार्वजनिक वस्तुको ओसारपोसारमा भइरहेको उथलपुथल साथै अनुदानको अन्नको कमीले निकै ठूलो संख्यामा त्यहाँका नागरिकहरु विस्थापित भइरहेका छन् । जसको सोझो असर छिमेकी देशहरुमा समेत परेको छ ।’ 

यो देशमा अप्रीलमा महङ्गी दर २३४ प्रतिशतले बढेको थियो । यसको अर्थ त्यहाँ प्रत्येक साढे १७ दिनमा मूल्य दुईगुणा भइरहेको छ । 

एकातिर सयौं र हजारौ नागरिक भोक र बढ्दो मूल्यबाट आजित भएर देश छाडिरहेका छन् भने अर्कोतर्फ यहाँका राष्ट्रपति निकोलस मदूरोले दाबी गरेका छन् कि देश तथा विदेशमा रहेका उनका राजनीतिविरोधीबाट छेडिएको आर्थिक युद्धका कारणले यो संकट आएको हो । 

यस्तो छ भेनेजुएलाको हालत

  • भेनेजुएलाको कुल निर्यातमा ९६ प्रतिशत तेलको हिस्सा छ । तेलको घट्दो मूल्यका कारण त्यहाँको आर्थिक अवस्था लगातार बिग्रिरहेको छ । चार वर्षअघि तेलको मूल्य पछिल्लो ३०वर्षकै सबैभन्दा तल्लो स्तरमा आइपुगेको थियो । 
  • वित्तीय संकटका कारण सरकारले लगातार नोट छापिरहेको छ, जसले उच्च महङ्गीलाई जन्म दिएको छ र त्यहाँको मुद्राको मूल्य लगातार घटिरहेको छ । 
  • यहाँको हालत यस्तो नाजुक भएको छ कि, एक अमेरिकी डलर बराबर यहाँको ३५ लाख बोलिभार भएको छ । 
  • सन् २०१८ को मई महिनामा न्यूनतम मासिक तलबबाट त्यहाँका नागरिकले २ लिटर दूध, चारवटा कोल्ड ड्रिङ्क्स र एक ब्रेड मात्र खरीद गर्न सकिन्थ्यो । 
  • अहिले त्यहाँ ५९ लाख बोलिवरको तलब थाप्ने प्राध्यापकको हातमा १.७० डलर मात्र प्राप्त हुने गरेको छ । 
  • भेनेजुएलाका एक प्राध्यापक जोस इबाराले आफ्नो जुत्ताको पूर्ण मर्मत गराउनका लागि मात्र आफ्नो ४ महिनाको तलब खर्च गर्नुपर्ने अवस्था सिर्जना भयो । 
  • यहाँका नाईहरुले कपाल काटिदिने शर्तमा अण्डा र केरा लिइरहेका छन्  
  • रेष्टुरेन्टमा खाना खुवाउने शर्तमा नेपकिन पेपर लिइरहेका छन् । 
  • यहाँ अन्न, दूध, औषधि र बिजुलीको चरम अभाव छ । 
  • बेरोजगारी बढेसँगै अपराधमा यहाँ तीव्र वृद्धि भइरहेको छ ।