काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्या पहिचान गर्न र समाधानको उपाय समेत सुझाउने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन समितिले आज अर्थमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ । 

डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिले मुद्रा तथा पूँजीबजारका समस्या र ती समस्या समाधानको उपायसहितको प्रतिवेदन आज अपरान्ह ४ बजे अर्थमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको समितिका एक सदस्यले बिजशालालाई जानकारी दिएका छन् । 

समितिले मुद्रा तथा पूँजी बजारका समस्या समाधानका लागि तत्काल चाल्नुपर्ने कदम र दीर्घकालीन कदमलाई वर्गीकरण गरी सुझाव पेश गर्नेछ । 

प्रतिवेदनले बैंकको ब्याजदर नियन्त्रणका लागि तत्काल चाल्नुपर्ने कदमको बिषयमा समेत निकै लामो सुझाव समेटेको छ । 

यस्तै, सेयर बजारका समस्याहरुमा समेत प्रतिवेदन सकारात्मक रहेको ती सदस्यको दाबी छ । 

तर, अर्को एक स्रोतले भने प्रतिवेदनमा सेयर बजार सुधारका लागि भन्दै समेटिएका केही बुँदाहरुमा रातारात चलखेल भएको दाबी समेत गरेको छ । केही स्वार्थ समूहले पोलिसी बनाउने तहमै केही करोड खर्च गरी चलखेल गरेका र केही अनपेक्षित बुँदाहरु समेत प्रतिवेदनमा आउने स्रोतको दाबी छ । तर, स्रोतले ती बुँदाहरुको बिषयमा प्रष्ट पारेको छैन । 

प्रतिवेदन निर्माणको क्रममा समितिका सदस्यहरुले समेत राम्रै चलखेल गरेका बुझिएको छ । सो क्रममा केही कम्पनीलाई सेयर बजारमा प्रवेश गराई तिनको आइपीओ प्रिमियम मूल्यमा निश्कासन गर्ने र त्यहाँबाट उठेको रकमको केही प्रतिशत पोलिसी लेभलका मान्छेसम्मलाई पुर्याउने चलखेल भएको समेत स्रोतको दाबी छ ।