काठमाण्डौ । पूर्व निर्धारित समयमै पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा आउने खबरको सकारात्मक प्रभाव बजारमा देखिएको छ । यहीकारण नेप्से परिसूचक ५.२३ अंकले बढेको छ भने कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी भएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३७ अंकले बढेको छ । 

यो दिन बिमा समूहको सूचकमा ५.४७ अंकको गिरावट आयो भने बाँकी सबै समूह हराभरा भए । 

उत्पादनमूलक समूहमा ४८.८७ अंकको बढोत्तरी भयो । यस्तै, जलविद्युत समूहमा २८.७१ अंक, होटल समूह १९.४५ अंक, बैंकिङ समूह २.८८ अंक, विकास बैंक समूह ४.६८, बित्त समूह २.३५, माइक्रोफाइनान्स समूह १३.३७ अंक र अन्य समूह ३.७८ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका ९ लाख १२ हजार ७ सय ५० कित्ता सेयर ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँ बराबरको कारोबार भयो । 

यो दिन प्रभू बैंकको १ करोड ९५ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, मेगा बैंकले १ करोड ८६ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले १ करोड ७७ लाख, एनएमबी बैंकले १ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३ लाख बढीको कारोबार गरे । यो दिन राष्टिय बिमा कम्पनी लिमीटेडको ८८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकको पनि ८६ लाख बढीको संस्थापक सेयरको कारोबार भयो । 

सिभिल बैंकले ८० लाख, नेपाल टेलिकमले ७९ लाख बढीको कारोबार गरेको बजारमा मुक्तिनाथ विकास बैंकको ७३ लाख बढीको संस्थापक सेयर समेत कारोबार भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
नेप्से परिसूचकमा झिनो बढोत्तरी भए पनि ७ कम्पनीका लगानीकर्ताले यो दिन कुस्त कमाए । यो दिन उन्नति माइक्रोफाइनान्स, रादी जलविद्युत कम्पनी र नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । किसान माइक्रोफाइनान्स, ङादी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, समता माइक्रोफाइनान्सको मूल्य ८.१३ प्रतिशत र अपी पावर कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन जेबिल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४ प्रतिशतको हाराहारीमा गुमाए ।