काठमाण्डौ । अनलाइन कारोबार प्रणालीमा आएको गम्भीर समस्याका कारण मंगलबार सेयर बजारमा पहिरो गएको छ । 

यो दिन नेप्से परिसूचक ६.८३ अंकले घटे पनि कारोबार रकममा भने भीषण पहिरो गएको हो । १० १२ वटा ब्रोकर बाहेक अधिकांशको टिएमएस ठप्प भएपछि कारोबार गर्न नपाउँदा रकममा यति भीषण पहिरो गएको हो । 

नेप्सेको अनलाइन कारोबार प्रणालीमा पटक पटक समस्या आउँदा समेत यसको स्थायी समाधानका लागि प्रभावकारी पहल गरिएको छैन । जसका कारण कुनै न कुनै समस्याले दैनिकजसो लगानीकर्ता प्रताडित भइरहेका छन् । 

कारोबारमा देखिएको चरम लापरबाही र गम्भीर गढबढीकै कारण मंगलबार धेरै लगानीकर्ता कारोबारबाट बञ्चित हुनु परेको छ । अधिकांश ब्रोकरहरुले समेत दिनभर काम गर्न पाएनन् । 

टिएमएस लगइनमा बारम्बार समस्या देखिएकै कारण बजार चलायमान हुन सकेन । जसका कारण सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन १५८ कम्पनीको ५ लाख ३४ हजार ९९५ कित्ता सेयर १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैयाँमा किनबेच भए । 

सिस्टममा गडबडी हुँदा समेत नागरिक लगानीकोषले २ करोड ३५ लाख बढीको सेयर कारोबार गर्यो । गुराँस लाइफ इन्स्योरेन्सले १ करोड ४६ लाख बढीको कारोबार गरेको यो दिन ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

अपर तामाकोशीले ४७ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ४५ लाख, प्रभू बैंकले ४३ लाख बढीको कारोबार गरे । 

कामना सेवा विकास बैंकको ३६ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन सेञ्चुरी बैंकले ३१ लाख, सिभिल बैंकले पनि ३१ लाख र स्ट्याण्डर्ड चार्टर्डले २९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
कारोबारमा समस्या हुँदा समेत आशा लघुवित्तका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो ।

सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बंैकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । 

कारोबार समय नथपिने
यसैबीच, दिनभरजसो कारोबारमा समस्या भोगेका लगानीकर्ताले समय थपको आशा गरेका थिए । तर, नेप्सेले भने कारोबार अवधि नथप्ने निर्णय गरेको छ । 

नेप्सेकी सहप्रवक्ता आकृति दंगालले यस्तो जानकारी दिएकी हुन् ।