काठमाण्डौ । अनलाइन कारोबार प्रणालीमा दैनिकजसो देखिएका गम्भीर समस्याहरु समाधानका लागि भेण्डर कम्पनी वाइकोले चार हप्ताको समय मागेको छ । 

शुक्रबार नेप्सेको सभाहलमा नेप्सेका अधिकारी, वाइकोका प्रतिनिधि र ब्रोकरहरुबीच भएको छलफलमा वाइकोले कमजोरी सुधारका लागि ४ हप्ताको समय मागेको हो । 

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट र नेप्सेका सीइओ चन्द्रसिंह साउदको समन्वयमा डाकिएको छलफलमा ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीको अवस्था भद्रगोलपूर्ण रहेको र यही अवस्थामा लगानीकर्तालाई विश्वासमा लिएर कारोबार संचालन गर्न असंभव रहेको बताएका थिए । उनीहरुले वाइकोले बनाएको अनलाइन कारोबार प्रणालीकै कमजोरीका कारण लगानीकर्ता बजारबाट विमुख हुँदै गएका भन्दै यसले समग्र पूँजीबजारको भविष्य नै अन्यौलग्रस्त बनाएको बताएका थिए । कमजोरी सुधार नहुने हो भने अनलाइन कारोबार प्रणाली केही समयका लागि स्थगन गर्ने प्रस्ताव ब्रोकरहरुले राखेका थिए । 

सो क्रममा नेप्सेका अधिकारीहरुले समेत वाइकोको कमजोरीका कारण अनलाइन कारोबार प्रणालीमा समस्या आएको दाबी गर्दै ब्रोकरहरुलाई कति समयसम्ममा समस्या समाधान हुन्छ भन्ने कुरा भनिदिन आग्रह गरेका थिए । 

सो क्रममा वाइकोका प्रतिनिधिहरुले ब्रोकरहरुसँग ४ हप्ताको समय मागेका छलफलमा सहभागी एक ब्रोकरले बताएका छन् । हामीले अनलाइन प्रणालीको नाममा कमजोरीको सीमा नाघेको र यो अवस्था सो प्रणाली चलाउनै नसक्ने भनेपछि वाइकाले धेरै समस्या र कमजोरी रहेको स्वीकार गर्दै सुधारका लागि ४ हप्ताको समय मागेको छ । ती ब्रोकरले बिजशालासँग भने ः हामी ४ हप्ताको समय दिन सहमत भएका छौ । 

यसैबीच, नेप्सेले समेत छलफलको विषयमा विज्ञप्ति जारीको कर्मकाण्ड पूरा गरेको छ । निकै सतही देखिएको विज्ञप्तिमा अनलाइन कारोबार प्रणालीमा बेलाबखत देखिएका समस्या सम्बन्धमा र समस्या समाधान केन्द्रीय विस्तृत छलफल भएको दाबी गरिएको छ । 

छलफलमा नेप्सेले अनलाइन कारोबार प्रणालीमा देखिएका समस्याहरुको विषयमा ब्रोकरबाट जानकारी लिने काम भएको र समस्या नदोहोरिने र भएका समस्या समाधानको प्रतिबद्धता समेत वाइकोबाट लिइएको बताइएको छ । 

सो क्रममा नेप्सेका सीइओ साउदले अनलाइन कारोबार प्रणालीमा समस्या देखा पर्नुको कारण सिस्टम र नेटवर्क, जेसँग सम्बन्धित भए पनि तिनलाई यथाशक्य छिटो निराकरण गरी कारोबार प्रभावकारी रुपमा गर्न वाइको र नेप्सेकै आइटी शाखालाई निर्देशन समेत दिएका विज्ञप्तिमा उल्लेख छ ।