काठमाण्डौ । सेयरको अनलाइन कारोबार प्रणालीलाई चुस्त दुरुस्त बनाउन नेप्से नेतृत्वले गरेको लापरबाहीको विषयमा सार्वजनिक कार्यक्रमहरुमै पनि प्रश्न उठ्न थालेको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणाली विश्वस्तरीय रहेको दाबी गर्ने गर्छ । तर, त्यसकै नियामक धितोपत्र बोर्डका एक अधिकारीले भने नेप्सेको अनलाइन प्रणालीको भद्रगोल अवस्थाप्रति सोमबार एक कार्यक्रममा घुमाउरो र तीखो प्रहार गरेका छन् । 

नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नवराज अधिकारीले विश्वका अन्य स्टक एक्सचेञ्जमा अनलाइन आएपछि कारोबार रकम ३ गुणासम्म बढेको, तर नेपालमा उल्टै घटेको भन्दै प्रश्न गरे । 

नेप्सेको अनलाइन कारोबार प्रणाली भद्रगोल भएको ४ महिनापछि धितोपत्र बोर्डबाट गठित अध्ययन समितिको संयोजक पनि हुन अधिकारी । स्रोतका अनुसार उनी नेतृत्वको समितिले हालको अनलाइन प्रणालीले लगानीकर्ताको विश्वास गुमाएको निश्कर्ष निकाल्दै बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन गर्नुुपर्ने सुुझाव दिएको थियो । यति मात्र हैन नेप्सेले अनलाइन सिस्टमको यूूएटी र आइएसओ प्रमाणपत्र लिन भनेकोमा आजका मितिसम्म नेप्सेले माथिका सुुझाव कुनै पनि कार्यान्वयन गर्न चासो दिएको छैन ।

नेप्सेको चरम लापरबाही र भद्रगोल अवस्थालाई नजिकबाट नियालेका अधिकारीले वर्तमान नेप्से इण्डेक्स निरन्तर घट्नुमा करसम्बन्धी मिसम्याच र बोनस तथा हकप्रदप्रति लगानीकर्ताहरुको अपेक्षा उच्च हुनुलाई पनि कारण भने । 

‘बजारमा आपूर्ति भएकाले समेत बजार घटेको तर, यसको सकारात्मक पाटो भनेको अत्यधिक पूुुँजी परिचालन भइरहेको हामीले बुुझ्नुपर्छ ।’ अधिकारी बजार संचालक नेप्सेमाथि प्रहार गर्दै भने–‘हामी माग सिर्जना गर्नमा चूुकेकै हौं ।’

नागरिक लगानीकोष, सञ्चयकोष लगायतका सरकारी संस्थानहरुका लगानी निर्देशिकामै व्यवस्था गरेर त्यहाँ रहेको ३ खर्ब ६० अर्ब रुपैयाँ बजारमा भित्र्याउन सकिने सुझाव उनले दिए । ‘आखिरीमा ती संस्थाहरुको समेत उद्देश्य सेयर बजार गतिशील बनाउनुु पनि हो । यसले बजार माथि जान्छ।’अधिकारीले जिकिर गरे ।

धितोपत्र कारोबारमा हुुने भित्री कारोबारमा सूचिकृत कम्पनीहरुकै पदाधिकारी र नियामक निकायको संलग्नता हुने गरेको अधिकारीको दाबी छ ।

बोर्डका उप कार्यकारी निर्देशक अधिकारी बोर्डमा रिक्त रहेको अध्यक्षका आकांक्षी मात्र हैनन् प्रबल दाबेदारका रुपमा लिइन्छ । पूँजी बजारका राम्रा ज्ञातासमेत रहेका अधिकारी अध्यक्ष भएपछि पूँजीबजार कायापलट हुने चर्चा बजारमा चल्ने गर्दछ । तर, प्रतिस्पर्धामा उनीजस्तै अब्बल उम्मेद्वार तथा आकांक्षी समेत धेरै छन् ।