-भक्तराज रसाइली
काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण लगभग पूरा भएको छ । सकेसम्म यही साताको अन्तबाट कन्फिडेन्टका लागि मोक टेस्टिंग सुरु हुने र त्यसको केही समयभित्रै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउने नेप्सेका अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रविधिलाई विकासको निशर्त मेरुदण्डका रूपमा बुझिन्छ । अर्थतन्त्रको ऐना मानिएको सेयरबजारले अब प्रविधिमा अत्याधुनिकतासँगै छ्लाङ्ग मार्ने अपेक्षा गरिएको छ । 

सामान्य परीक्षणकाल करिब सकिएसँगै यही हप्ता नेप्सेका बोर्ड सदस्यहरुलाई  मोक टेस्टिङ्गको सिस्टमबारे जानकारी गराउन र तालिम दिन लागिएको नेप्सेका सीइओ चन्द्रसिंह साउदले बिजशालालाई बताए । 

सेयर लगानीकर्ता संघका नेताहरूका एक समूहलाई यो बिषयमा तालिम दिइसकिएको र अबको पालो नेप्सेका बोर्ड सदस्यको रहेको उनले बताए । यही हप्ताको अन्तमा सेयर बजारको बिषयमा कलम चलाउने पत्रकारहरुलाई समेत एक कार्यक्रममाझ मोक टेस्टिंगको तालिम दिइने उनले जानकारी दिए ।

नेपाली सेयर बजारको २५ वर्षको यात्रामा पूर्ण अनलाइन प्रविधि अब लगभग पूरा भइसकेको नेप्सेका आईटी प्रमुख निराञ्जन सिंह नायकले जानकारी दिएका छन् । बहुप्रतिक्षित पूर्ण अनलाइन प्रणालीअनुसार सेयर लगानीकर्ताले संसारका जुनसुकै ठाउँबाट ईन्टरनेट र मोबाइलबाट पनि सेयर खरिदबिक्री गर्न सहज हुन लागेको उनको भनाई छ । 

सेयर कारोबारमा पूर्ण अनलाइन मार्फत कारोबार गर्दा दुर्घटना हुनसक्नेमा विशेष सावधानी अपनाइएको नेप्से स्रोतले बताएको छ । प्रविधि नयाँ र अभ्यासमा समय लाग्ने भएकोले मोक प्रणाली सके यही शुक्रबार, नभए अर्को साताको आइतबारदेखि सुरु गरिने आईटी प्रमुख नायकले बताए । त्रुटि र कमजोरीहरुलाई सच्याउन अनि लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि गराउन यो प्रणाली कोशेढुङ्गा साबित हुने नायकको दाबी छ । 

छिटोभन्दा छिटो अनलाइन सिस्टम चालू गर्न नेप्से आतूर रहेको नेप्सेका अधिकारीहरु बताउँछन् । 'लगभग अनलाइनको सम्पूर्ण काम सकिएको छ अब कन्फिडेन्टका लागि मात्र मोक गर्न लागिएको हो ।'-आईटी प्रमुख नायकले भने ।