-भक्तराज रसाइली 
काठमाण्डौं । नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली निर्माणको क्रममा व्यापक घोटाला भएको भन्दै त्यसको छानबिन हुनुपर्ने मागसहित लगानीकर्ताको एक समूह सोमबार नेप्से पुगेको छ । 

सेयर लगानीकर्ता दवाब समूहको एक टोली नेप्से पुगेर अनलाइन कारोबार प्रणालीको नाममा नेप्सेले जारी राखेको बितण्डा अन्त गर्न माग राख्दै सम्बद्ध निकायलाई यो प्रणाली निर्माणको क्रममा भएको अनियमितताको छानबिन गर्न माग गरेको हो । 

सोमबार कारोबार खुलेलगत्तै नेप्सेको सिस्टमको कमजोरीका कारण अपर तामाकोशीको सेयर मूल्य ५० प्रतिशतसम्म बढेर कारोबार भएको थियो । १० प्रतिशत मूल्य घटबढ हुँदा सर्किट लगाएर कारोबार रोक्नुपर्नेमा सिस्टमको खराबीले अपरको मूल्यमा एकैदिन केही मिनेटमै ५० प्रतिशतको बढोत्तरी भएपछि लगानीकर्ता अलमलमा परेका थिए । 

सिस्टमको खराबी र कम गुणस्तरको सिस्टमका कारण लगानीकर्तामा अन्यौल सिर्जना भएको, सिस्टमलाई दोष देखाएर चलखेल गर्नेहरुले प्रश्रय पाएका र विश्वस्तरीय दाबी गर्ने अनलाइन प्रणाली थोत्रो रेल झै काम नलाग्ने भएको भन्दै यसको सुधार र यसको नाममा भइरहेको गडबडीको छानबिन हुनुपर्ने मागसहित हरि ढकाल नेतृत्वको समूह नेप्से पुगेको हो । 

सो समूहका अधिकांश सदस्यहरुले पछिल्लो अवस्थामा नेप्सेको अनलाइनप्रतिको अविश्वास बढ्दै गएको र यहीकारण लगानीकर्ता अनलाइन कारोबार प्रणालीमा आउन नचाहेका बताए । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले विश्वस्तरको भनी दाबी गरेको नेप्से अनलाइन प्रणालीमा भएका बग्रेल्ती समस्याहरु निराकण नभइदिदा अनलाइनप्रतिको विश्वसनीयतामाथि औंला उठाउँदै सेयरलगानीकर्ता दबाब समूहका अध्ययक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायत २० जना जतिको समूहले नेप्से घेर्न दिउँसो १ बजे भेला भएका थिए । नेप्सेका सिइओ चन्द्रसिंह साउद र आइटी प्रमुख बिदामा बसेका हुनाले आफ्ना मागहरु निरञ्जन फुयाल र प्रवक्ता मुराहरि पराजुलीसमक्ष उनीहरुले राखेका थिए ।

समूहले  पर्सि माघ २ गते पुनः नेप्सेका सिइओ साउद र आइटी प्रमुख निराञ्जनसिंह नायकलाई भेट्ने बताइएको छ ।

फूयाँल र प्रवक्ता पराजुलीसँग दवाब समूहका अधिकारीहरुले नयाँ ब्रोकर लाइसेन्स खुला गर्न ३-४ दिन समय नै पर्याप्त हुने र लाइसेन्समा चलखेल गर्न नेप्सेले कमिटी बनाउने नाटक गरेको भन्दै आपत्ति जनाएका थिए । ब्रोकर लाइसेन्स छिटो खुलाउन समेत सो समूहले माग गरेको थियो ।

समूहका महासचिव नयन बास्तोलाले नेप्सेले पूर्ण अनलाइनको हवाला दिएर लगानीकर्तालाई उल्लू बनाउने काम भइरहेको र भित्रभित्रै गुणस्तरहीन सिस्टमको परीक्षण चलिरहेको दाबी गर्दै यथार्थ कुरा लगानीकर्तामाझ ल्याउन आग्रह गरे । 

विश्वस्तरको अनलाइन प्रणाली भनी दाबी गर्दै आएको नेप्सेले अनलाइनका नाममा लगानीकर्ताकै पैसाले किनेको सफ्टवेयरमा व्यापक हिनामिना र चरम लापरवाही भएको सो समूहमा नेप्से पुगेका केही लगानीकर्ताहरुको आरोप थियो ।

लगानीकर्ताहरुलाई सेयर कारोबारमा सहजता हुनपर्नेमा गलत तथ्यांक तथा जानकारी पेश गरेर बजारमा उल्टै अन्यौल सिर्जना भइरहेकोमा यो अन्त नभए कडा आन्दोलन थाल्ने दवाब समूहको चेतावनी छ ।

समूहका केही सदस्यले नेप्सेले अनलाइन प्रणालीको नाममा बितण्डा मच्चाइरहँदा र ब्रोकर लाइसेन्स वितरणमा चलखेल गरिरहँदा समेत नियामक धितोपत्र बोर्ड मौन बस्नुलाई 'आश्चर्यजनक' भनेका छन् । बोर्डको मौनता र नेप्सेको मनपरीमाथि अर्थमन्त्रालयले कैंची लगाउनुपर्ने कतिपयको धारणा थियो ।