-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र डाटा हब सेन्टर वाइको कम्पनीको गम्भीर त्रूटि र चरम लापरवाहीका कारण विगत ३ महिनाअघिदेखि गोप्य भनिने फ्लोरसिटमा अनलाइन लगईन लिएका ब्रोकर तथा लगानीकर्ताहरुले एकअर्काको डाटा तथा गोप्य सूचना निर्वाध हेर्ने गरेका रहस्य खुलेको छ।
 
नेप्सेको कमजोर सुरक्षा प्रणालीकै कारण विगत ३ महिनादेखि अनलाइन प्रणालीको नाममा लगानीकर्तासँग सम्बन्धित गोप्य सूचना दुरुपयोग गरी बाठाहरुले राम्रै चलखेल गरेका रहस्य उद्घाटन भएको हो । 
 
गोप्य सूचना एकअर्काले हेर्न मिल्ने अनलाइनको कमजोरीको फाइदा उठाएर निश्चित समूह मालामाल भएको र यसले सर्वसाधारणमा चाहि सेयर बजारप्रतिको विश्वासलाई कमजोर बनाइदिएको जानकारहरु बताउँछन् ।
 
डाटा लिक्समा चूकेको नेप्सेले ह्याकरको त कुरै छाडौं खुलेआम डाटा चूहावट र सूचनामा खेलबाड हुँदा समेत थाहा नपाएको नाटक गरेको देखिएको छ । 
 
यो विषयमा हामीले प्रमाणसहित नेप्सेका सीइओ चन्द्रसिंह साउदको प्रतिक्रिया लिन खोजेका थियौ । सो क्रममा अनलाइनमा केही समस्या छैन भन्दै टार्ने प्रयत्न गरे । हामीले समस्याको विषयमा सप्रमाण तर्क पेश गरेपछि ‘तल पर्नू होला विचार गरेर लेख्नुस्’् भन्ने धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् ।
 
विगत केही दिनदेखि नेप्सेका सीइओ साउदको कार्यकक्षमा ब्रोकर र नेप्सेबीच निरन्तर छलफल चलिरहेको छ र अनलाइनकै भद्रगोलबाट आजित ब्रोकरहरुसँग नेप्सेका कतिपय अधिकारीको सो छलफलकै क्रममा चर्काचर्की समेत हुने गरेको छ । 
 
ती छलफलहरुमा समेत ३ महिनासम्म गोप्य सूचनाको दुरुपयोग भएको विषय उठेको थियो । 
 
स्वचालित अनलाइनले दिनहँु दुर्घटना निम्त्याइरहेको देखेर र एउटा ब्रोकरको फ्लोरसिट अर्को ब्रोकरले देखेर गोपनीयता भङ्ग भएको भन्दै ब्रोकरहरुको एक समूह हिजो समेत नेप्से पुगेको थियो । 
 
कानूनी रुपमै गोप्यता भङ्ग हुने यस किसिमका चरम लापरवाही र हेल्चेक्र्याइँ देखि आजित भएर एक ब्रोकरले त बजार संचालक(नेप्से)लाई ‘अपराधी’को संज्ञा समेत दिएका छन् । 
 
यस विषयमा डाटामा गोपनीयता भङ्ग भएछ भन्ने जिज्ञासा नेप्सेका सिइओ साउदसमक्ष राख्दा त्यो समस्या भएको स्वीकार्दै भूल करेक्सन भएको र यसमा नेप्से र डाटा हब सेन्टर दुवैको गम्भीर त्रूटि भएको बताए । 
 
हिजो(आइतबार) थाहा पाउने बित्तिकै नेप्सेले तत्काल समाधान गरेको साउदको दाबी छ । 
 
पछिल्लो समयमा केही कम्पनीहरुको बिक्री चाप बढ्दा किन सिस्टम क्र्यास भएको भन्दा साउद भन्छन्–‘अपर तामाकोशीमा मानवीय त्रूटि भएकै हो । त्यो प्रमाणित भइसक्या छ । यसमा नेप्से चुकेकै हो ।’
 
यसप्रकार नेप्सेले अन्तर्राष्ट्रिय स्तरको टेष्टेड प्रविधिको हवला दिंदै आए पनि अनलाइन कति गुणस्तरहीन छ भन्ने कुरा यस्ता घटनाले पनि देखाउँछ ।
 
यसका समस्याहरु ज्यूँका त्यू रहनु र नेप्सेले आधारबिना यस्ता कुरा गर्नेहरुलाई उल्टै ठूलो स्वरमा थर्काएर पठाउने गरेको छ । बिजशालाले प्रमाणसहित पेश गरेपछि मात्र साउदले आफ्ना गल्ती स्वीकारेका कुरा यहाँ स्मरणयोग्य छ ।
 
सेयर विज्ञ मनोहरकृष्ण श्रेष्ठले नेपालमा अनलाइन नै नआएको ठोकुवा गरे । नेप्सेले अहिले अनलाइनको नाममा सबै लगानीकर्ताहरुलाई भूलभुलैयामा राखिरहेको आरोप उनको छ । स्वचालित अनलाइन कारोबार प्रणाली संचालनको नाममा मोटो बजेट सकिएको र यो प्रकरणमा अर्थमन्त्रीसम्म च्यानल फिट गरी मिलेमतोमा भ्रष्टाचार भएको उनको दाबी छ ।
 
बजार सञ्चालकको भूमिका निर्वाह गर्दै आएको नेप्सेले पूर्ण स्वचालित अनलाइन भन्दै सेयर लगानीकर्ताहरुलाई आँखामा धूलो छर्किरहेको छ । 
 
भव्य होटलमा अनलाइन उद्घाटन भएको हनिमून पिरियड सकिनै लाग्दा समेत अनलाइनका बग्रेल्ती समस्याहरुले न त किनारा पाएका छन् न त समाधान नै । 
 
दिनहुँजसो सयौं समस्याहरु सिर्जना भइरहेका छन् । यही किसिमको त्रूटि र लापरवाहीबाट आजित भएका ब्रोकरहरु दिनहुँ नेप्सेसँग छलफल गरिरहेका छन् र यो समाचार तयार गर्दा समेत ब्रोकरहरुसँग आज ४ बजेदेखि छलफल भइरहेको नेप्सेस्थित स्रोतको दाबी छ । 
 
अनलाइनको गाइजात्रा !
नेप्सेमा सूचीकृत २ सय हाराहारी कम्पनीका नियामक र बजार सञ्चालकको कमान सम्हाल्दै आएको नेप्सेको अनलाइन प्रणालीमा कारोबार हुने समयमा लगईन नहुने र आफैं बेलाबेलामा लगअफ भएर ब्रोकरहरुले कारोबार गर्न नपाउने समस्या अझै निराकरण भएको छैन । 
 
धेरै अर्डर हिट भएर सिस्टम नै क्र्यास हुने समस्या समेत उस्तै छ । उदाहरणको रुपमा हिजो एनटीसी र केही समयअघिको अपर तामाकोशीको घटनालाई लिन सकिन्छ । 
 
नेप्से, वाइको र ब्रोकरहरुले बनाएको भाइबर ग्रुपमा दैनिकजसो सयौ समस्या र अप्ठ्याराहरु पोष्ट हुने गरेका छन् । तर, ती समस्याको विषयमा गु्रपमै जोडिएका भए पनि नेप्से र वाइकोले बेवास्ता गर्छ । 
 
मार्केट डेप्थ समेत सही नहुने त छदैं छ नै नयाँ ग्राहक दर्ता गर्दा युसीसी जेनेरेट हुन १५ दिन लागिरहेको ब्रोकरहरु बताउँछन् ।
 
यत्ति मात्र हैन कि अनलाइन लगइन लिन ब्रोकरहरु स्वयं नेप्से जानुपर्ने बाध्यता समेत रहँदै आएको छ । 
 
नेप्सेको सिस्टम आर्किटेक्चर नै गलत  रहेको र ओटीपी मेलमा नआईदिँदा यसले बजारमा विश्वासको संकट सिर्जना गरिरहेको स्रोत बताउँछ। 
बैंकबाट रकम हस्तान्तरण नहुने र सिस्टमले नतान्ने समस्या पनि रहेको छ । बाइ अप्सन थिच्दा सेल हुने र सेल थिच्दा बाइ हुने गर्दछ । 
 
कारोबारको प्रकृति र अप्सन अनुसार सिस्टमले काम नगरिरहेको अवस्था समेत जस्ताको तस्तै छ । 
 
नेप्सेले बनाएको कारोबार रेञ्ज कानूनका ढड्डीमा मात्र सीमित हुनु र सिस्टममा रेञ्ज मुताबिक कारोबार हुन नसक्नुले गम्भीर संशय पैदा गरिदिएको छ ।
 
यसबाट के उजागर हुन्छ भने नेप्सेको नियम विनियम अनुसार सिस्टम नबनेको र कानूनसँग संयोजन नगरी सिस्टम बनाइएको छ । अनलाइन युजर लगानीकर्ताहरुले ब्रोकरहरुबाट पाएको कारोबार लिमिटभन्दा बढी अर्डर पोष्ट भई एकातिर नेप्सेले नै वित्तीय जोखिम बढाइरहेको समेत देखिँदै आएको छ ।
 
अर्डर मोडिफाइ नहुने, क्यान्सल नहुने र रियल टाइममा कारोबार नहुने समस्याले अनलाइन कारोबार झन् जटिल बन्दै गएको प्रयोगकर्ता बताउँछन्। 
 
नेप्सेले फ्लोरसिट समेत बेलूकी ५ बजेतिर पठाउने गरेको छ, जसले गर्दा सेयर हस्तान्तरण र भुक्तानीमा समेत असन्तुलनको अवस्था यथावत छ । 
 
अर्डर अपडेट गर्दा डाटा हराउने समस्या लगायत विविध कारणले नेप्सेको अनलाइनलाई लगानीकर्ताहरुले विश्वास नगरेकै कारणले अनलाइन कारोबारमा समेत सक्रियता नदेखाइरहेको अवस्था प्रमाणित हुन्छ ।
 
यावत समस्याहरु हुँदाहुँदै पनि नेप्सेले अनलाइन प्रणालीको सुधारका लागि ध्यान दिएको छैन । बरु समस्या लिएर नेप्सेसम्म पुग्ने ब्रोकर, लगानीकर्ता लगायत सरोकारवालालाई थर्काउने र झारा टारेर फकाईदिने काम मात्र हुने गरेको छ । नेप्सेले अनलाइन प्रणालीको समस्या समाधानमा गम्भीर नबन्दा आजित बनेका कतिपय ब्रोकरहरुले त उनीहरुको आन्तरिक बैठकमा तालाचाबी नै बुझाउनुपर्ने सम्मका प्रस्ताव समेत गर्न थालिसकेका स्रोतहरु दाबी गर्छन्।