काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको शुरूवात गरेको छ । 

ललितपुर उद्योग वाणिज्य संघबाट भदौ १ गतेदेखि पूर्ण रूपमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने पूर्व योजना अनुसार उक्त कार्यको शुरूवात गरिएको हो । 

अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यको नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठले एक कार्यक्रमका बीच शुभारम्भ गरे । 

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, संघका पदाधिकारी, महासंघका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघले पनि हिजै अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यको शुरूवात गरेको छ । 

उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई व्यवस्थित, प्रभावकारी, प्रविधियुक्त बनाउने र सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले अनलाइन प्रविधिबाट जारी गर्ने कार्यको शुरुवात गरिएको हो । 

महासंघले अव विस्तारै भक्तपुर, काठमाडौं र उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार दिएका काठमाडौं बाहिरका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट समेत अनलाइनबाटै जारी गर्ने कार्य गर्नेछ ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुने, जहा“बाट पनि विवरण भर्न तथा जारी गर्न सकिने, अनुगमन गर्न, बस्तु निकासीको तथ्यांक सहज तरिकाबाट प्राप्त गर्न र व्यवसायलाई अन्तराष्ट्रियस्तरमा लैजान समेत फाइदा पुग्ने विश्वास महासंघको छ । प्रारम्भमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई भारत बाहेक तेस्रो मुलुकका लागि मात्र शुरूवात गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र महासंघका अध्यक्ष भवानी राणाले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी गर्ने कार्यको सफ्ट लञ्च गत साउन १ गते महासंघको सचिवालयमा संयुक्तरूपमा गरेका थिए । 

नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ ।