काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले तत्काल सिस्टम स्थापना गरी सेयरको अनलाइन कारोबार थाल्ने निर्णय गरेको छ । 

बजारमा निश्चित व्यक्ति तथा समूहको चलखेलका कारण अस्वभाविक पहिरो गई लगानीकर्ताको अरबौं डूूबेपछि तातेका अर्थमन्त्री कृष्णबहादुर महराको निर्देशनमा नेप्सेले तत्काल अनलाइन कारोबार प्रणाली स्थापना गर्ने र सेयरको अनलाइन कारोबार सुरु गर्ने गरी तयारीको कामलाई अगाडि बढाउन सम्बद्ध कम्पनीले निर्देशन दिएको हो । 

पाटन उच्च अदालतले वाइको कम्पनीसँग अनलाइन कारोबार प्रणाली स्थापनाका लागि नेप्सेले गरेको सम्झौता कार्यान्वयनको आदेश दिएपछि बीचको केही समय अन्यौलमा परेको यो मुद्धा अगाडि बढाउन सहज भएको हो । 

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले अनलाइन कारोबार प्रणाली स्थापनाको ठेक्का पाएको वाइको कम्पनीलाई काम अगाडि बढाउन दिने निर्णय मंगलबारको नेप्से संचालक समितिको बैठकले गरेको र सोही आधारमा निर्देशन दिइएको बताए । 

करिब २ वर्षअघि नेप्सेले अनलाइन कारोबार प्रणाली स्थापनाका लागि एड्भान्स सफ्टवेयर स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो । सो त्रममा वाइकोसँग १८ करोड रुपैयाँमा अनलाइन कारोबार प्रणाली स्थापनाको सम्झौता भएको थियो । तर नेपाल धितोपत्र बोर्डले यो रकम अधिक भएको भन्दै केही समय अल्झाउने काम भएको थियो । सो बीचमा अदालतमा मुद्धा परेपछि यो प्रणाली स्थापनामा केही विलम्ब हुन पुुगेको थियो । वाइको नेपाली सफ्टवेयर कम्पनी हो । उसले भारतीय कम्पनी इन्फिनिटी कम्प्युुटर सोलुुसनलाई साझेदार बनाएर एड्भान्स अनलाइन सिस्टम तथा सफ्टवेयर स्थापनाको कामलाई अब तीव्र गतिमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

नेप्सेका अर्का एक अधिकारीका अनुसार वाइकोले छिटोमा ६ महिनाभित्रै अनलाइन कारोबार प्रणाली स्थापना गर्न सकिने वचन दिएको छ । तथापि सम्झौतामा भने १४ महिनाभित्र सफ्टवेयर तयार गर्ने भनिएको छ । 

यो प्रणाली कार्यान्वयनमा आएपछि बजारको अनावश्यक चलखेल बन्द हुने अपेक्षा गरिएको छ । लगानीकर्ता आफैंले पायक पर्ने ठाउँमै बसेर अनलाइन सेयर किन्न र बिक्री गर्ने सुविधा प्राप्त गर्नेछन् । यो प्रणाली स्थापनापछि निश्चित समूहले बजारमा लादेको सिण्डिकेटको समेत अन्त हुने अपेक्षा गरिएको छ ।