काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आज(साउन १)देखि कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा विज्ञप्ति जारी गरेको छ । 

प्रवक्ता मुराहरी पराजुलीले जारी गरेको विज्ञप्तिमा पूर्व निर्धारित तालिका अनुसार मंगलबारदेखि नेप्सेको विद्यमान कारोबार प्रणाली(कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम) र नयाँ प्रणाली(नेप्से अनलाइन ट्रेडिङ सिस्टम)को परीक्षण समानान्तर रुपमा संचालनमा आउने प्रष्ट्याएका हुन् । 

आजदेखि पूर्वाधार तयार गरेका सदस्य दलालले क्लाउड बेस्ड होस्टिङ गर्दै ट्रेड म्यानेजमेन्ट सिस्टम जडान गरी लगानीकर्तालाई समेत यसमा सहभागी गराउँदै लैजाने योजना रहेको बताइएको छ । यसअनुसार लगानीकर्ताले क्रमिक रुपमा आफूले कारोबार गर्दै आएका सदस्य दलालमार्फत युजर नेम र पासवर्ड प्राप्त गर्नेछन्, तर त्यसका लागि लगानीकर्ताले केवाइसी अद्यावधिक गराउनुपर्नेछ । केवाइसी अद्यावधिक गराउँदा इमेल ठेगाना र मोवाइलनम्बर अनिवार्य गरिएको छ । 

त्यसपछि उपलब्ध गराइएको युजर नेम र पासवर्डमार्फत लगानीकर्ताले हाल सदस्य दलालले कम्प्युटराइज्ड ट्रेडिङ सिस्टममा प्रविष्ट गरेको आदेश र कम्प्युटराइज्ड सिस्टममा म्याचिङ भएको आफ्नो कारोबारको विवरण मात्र हेर्न सक्नेछन् । 

नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा कार्यान्वयन गर्नुअघि यूजर एसेप्टेन्स टेस्ट(यूएटी) गर्नुपर्ने भएकोले सो कार्य नभएसम्म यो प्रणाली पूर्ण कार्यान्वयनमा आउनेछैन । यूएटी गर्ने कम्पनीबाट नेप्से अनलाइन ट्रेडिङ सिस्टम औपचारिक कारोबार संचालनका लागि योग्य छ भन्ने सिफारिस प्राप्त भएपछि नियामक निकायको स्वीकृति लिई नेप्सेले अहिलेको कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमलाई प्रतिस्थापित गरी नयाँ प्रणाली कार्यान्वयनमा ल्याउनेछ ।