-भक्तराज रसाइली
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गतेदेखि नै जारी छ । सोही मितिदेखि सिस्टम उपलब्ध ब्रोकरहरुमा गएर यूजर नेम र पासवर्ड लिई परीक्षण कारोबारमा सहभागी बन्न सकिने भन्दै नेप्सेले लगानीकर्तालाई आग्रह गरिरहेको छ । ब्रोकरहरुले समेत यो बिषयमा सकेसम्म लगानीकर्तालाई सूचित गरिरहेकै छन् । तर, अनलाइन कारोबार प्रणालीको परीक्षणमा कारोबार गर्न सिक्ने बिषयमा भने लगानीकर्ता खासै उत्साहित देखिएका छैनन् । अधिकांश ब्रोकरहरुको लगभग एउटै भनाई छ ः सोध्ने धेरै छन्, यूजर नेम र पासवर्ड लिने अत्यन्त न्यून । 

यही क्रममा अनलाइन कारोबार प्रणालीको परीक्षणमा आएका समस्या, लगानीकर्ताको सहभागिता तथा अप्ठ्यरा वा सहजताको बिषयमा बुझ्न बिजशाला संवाददाता मंगलबार कारोबार अवधिभर विभिन्न ब्रोकर कम्पनीहरुमा घुमिरहे । केही घण्टाको यो घुमाईपछि देखियो-अनलाइन प्रणालीको बिषयमा लगानीकर्तामा उत्साह भन्दा बढी अन्यौल रहेछ । अनलाइन प्रणालीमा कसरी कारोबार गर्ने भन्ने बिषय सिक्नका लागि समेत लगानीकर्ता उत्साहित छैनन् । मानौं, सेयर बजारको घट्दो चालप्रति अधिकांश लगानीकर्ता निराश छन् र उनीहरुको घाउमा मल्हम लगाउन अनलाइन कारोबार प्रणाली मात्र पर्याप्त छैन । 

हामीले मंगलबार कहाँ के देख्यौं ? हेरौं:
हामीलाई लागेको थियो कम्प्युटराइज्ड ट्रेडिङ्ग सिस्टमको अवसान र अनलाइन ट्रेडिङ्ग सिस्टमको जन्मको एउटा महत्वपूर्ण कडी पूर्ण स्वचालित अनलाइन प्रणालीको  परीक्षण सुरु भएको एकसातापछि लगानीकर्ता उत्साहित होला र ब्रोकर कम्पनीमा उत्साहको त्यो रंग अध्ययन गर्न पाइएला । तर, दृश्य हाम्रो अपेक्षाभन्दा ठीक विपरीत देखियो । 

कार्यालय समयको सुरुवातमा हामीले कालिका सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ४६ की कर्मचारी रमा पाठकलाई भेटेर यूजर नेम  र पासवर्ड कति लगानीकर्ताले लिएछन् भन्ने कुरा बुझ्यौ । उनका अनुसार त्यहाँबाट हाल(मंगलबार)सम्म १२ जना जत्तिले मात्र युजर नेम र पासवर्ड लिएका रहेछन् । लगानीकर्ताले परीक्षणकै लागि तयार सिस्टम समेत राम्रोसँग नचलेको, परीक्षण साइट खोल्दा मोबाइल नै ह्याङ्ग हुने, खरिद आदेश गर्दा बिक्रीमा देखिने, ५०० कित्ता अर्डर राख्दा ५० कित्ता मात्र देखिने जस्ता समस्या आएका र यस्ता बग्रेल्ती समस्या रहेको गुनासो गरे । 

हुन त यो परीक्षणकाल भएकोले समस्या धेरै आउँछन् नै । नेप्सेले पनि समस्या आउँछन भनेरै त्यसको अध्ययनको आधारमा अनलाइन प्रणालीलाई थप भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन यूएटी लगायतका काम अगाडि बढाइरहेको छ । तर, परीक्षणले नै पनि लगानीकर्तामा उत्साह नभर्नु सुखद बिषय होइन । 

ब्रोकर नं. ५० का संचालक प्रियराज रेग्मीको भनाईमा लगानीकर्तामा चासो बढिरहेको र सोधपुछ गर्ने क्रम बढेको छ । उनको ब्रोकरबाट हालसम्म २० जनाले मात्र यूजर नेम र पासवर्ड लिएका छन् । 

एक ब्रोकर अफिसमा लगानीकर्ताको सुविधाका लागि अनलाइन कारोबार प्रणालीमा प्रवेश गर्ने बिषयमा टाँसिएको सूचना । 

.....................................................................................

ब्रोकर नं. २६ का एमडी राजकुमार खत्रीकाअनुसार ३ हजार लगानीकर्तामध्ये ३ जनाले मात्र यूजर नेम र पासवर्ड लिखएका छन् र लिएका पनि बेखुश देखिन्छन् । भ्यालीड मेल आउन समस्या र समग्रमै अलमलको स्थिति भएकाले इन्भेष्टरलाई चेतना जगाउने काम भइरहेको उनको भनाई छ । 

ब्रोकर नं. २५ की सुचिता खनालले बिजशालासँग भनिन्– ‘‘हामीकहाँ नियमित ग्राहक १०० जनामध्ये २० जना जतिलाई युजर नेम र पासवर्ड दिइसकेका छौं । बाँकीलाई म्यासेज गरेर जानकारी दिइरहेका छौं । क्युरिसिटी लिएर सोध्ने मात्र धेरै छन् । चलाइरहेकाहरुले साइटमा केही नदेख्ने र हेर्न नमिलेकोले अनेकौ गुनासाहरु गर्ने गरेका छन् ।’

यसैगरी, ब्रोकर नं. ४९, अनलाईन सेक्युरिटिजमा जाँदा त्यहाँका ३ हजार ग्राहकमध्ये १५ जना मात्र यूजर नेम र पासवर्ड लिएर अनलाइनको परीक्षणमा सहभागी भएका पाइयो ।  सोही ब्रोकर हाउसका स्टाफ विनोद खनालले भने –‘‘डाटा माइलेज नभएको र ८०० को इन्डेक्स देखाइरहेको र झञ्झटिलो प्रक्रिया भएका जस्ता गुनासा लगानीकर्ताबाट आउने गरेको छ ।’’

उपत्यकाबाहिर धरान शाखामा सम्पर्क गर्दा अनलाइनका शाखा प्रमुख सुजन निरौला भन्छन् –‘‘उत्साह खासै छैन, तर पनि बुझ्न आउनेको संख्या भने बढिरहेको छ।’