-भक्तराज रसाइली
काठमाण्डौ । साउन १ गतेदेखि परीक्षणमा ल्याइएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा अभ्यस्त हुने बिषयमा लगानीकर्ताहरुले अनिच्छा किन देखाइरहेका होलान् ? अनलाइन प्रणालीको व्यग्रताको साथ प्रतिक्षा गरिरहेका लगानीकर्ताहरुमा परीक्षण प्रणालीमा अभ्यस्त हुने जाँगर किन आएन ? अनलाइन प्रणालीको परीक्षणमा अपेक्षा गरेअनुसार लगानीकर्ताको सहभागिता हुन नसक्नु पछाडिको प्रमुख कारण ब्रोकरहरुको लापरबाही र खेल रहेको रहस्य खुलेको छ । 

नेपाल स्टक एक्सचेञ्जका एक अधिकारीले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षणमा लगानीकर्तालाई सहभागी नगराउने चालबाजी ब्रोकरहरुले नै गरिरहेका गम्भीर आरोप लगाएका हुन् । 

नाम उल्लेख गर्न नचाहने ती अधिकारीले बिजशालासँग कुरा गर्दै ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउने नेप्सेको समयतालिका प्रभावित हुने गरी चलखेल गरिरहेका खुलासा समेत गरे । 

अनलाइन प्रणालीमा अभ्यस्त बन्नका लागि नेप्सेले लगानीकर्तालाई आफ्ना ब्रोकरमा गएर यूजर नेम र पासवर्ड लिन आग्रह गरेको थियो । तर, नेप्सेको पटक–पटकको आग्रहपछि पनि यूजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या अत्यन्त न्यून छ । 

लगानीकर्तालाई यूजर नेम र पासवर्ड लिने कुरामा अनिच्छा जगाउने काम पनि ब्रोकरले नै गरेका पाइएको ती अधिकारीको दाबी छ ।

‘लगानीकर्ताहरुलाई यूजर नेम र पासवर्ड लिएर मात्र के हुन्छ, नलिनू, यसको काम छैन भन्दै ब्रोकरहरुले नै निरुत्साहित गरेका अनुसन्धानको क्रममा पाइएको छ ।’ ती अधिकारीले भने–‘यस्ता दर्जनौ गुनासा नेप्सेमा दैनिकजसो आउन थालेका छन् ।’  

ब्रोकरले हाल अनलाइन कारोबार प्रणालीको परीक्षणका लागि झारा टार्ने उद्देश्यले नेप्सेले तोकेको मापदण्ड समेत लत्याउँदै कम क्षमताको सिस्टम राखेको र त्यसमा धेरै प्रयोगकर्ता हुँदा समस्या आउने भएपछि ब्रोकरहरुले बदमासी गरिरहेकामा नेप्सेका अधिकांश उच्च अधिकारी रुष्ट देखिएका छन् । 

नेप्सेले ब्रोकरहरुलाई बोलाएर कम्तीमा २ जना आइटी विज्ञसहितको जनशक्ति र पूर्वाधारको बिषयमा समेत मापदण्ड तोकिदिएको थियो । तर, त्यो मापदण्डप्रति ब्रोकरहरुले पूर्ण बेवास्ता गरिरहेका छन् । ‘अधिकांश ब्रोकर मापदण्ड पूरा गर्नभन्दा अटेर गरी बसिरहेका छन् ।’ ती अधिकारीले भने–‘उनीहरुकै असहयोगका कारण लगानीकर्तामाझ पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको रौनकता छाउन सकेको छैन ।’ 

हाल ब्रोकरहरुले आफ्नै सर्भर तथा सिस्टम तयार गरेका छैनन् । क्लाउडबाट ३ महिनाका लागि निःशुल्क प्राप्त भएको लगइन नै चलाइरहेका र आफ्नो आम्दानी घट्ने अवस्थामा धेरै लगानी किन गर्ने ? भन्दै अटेर गरिरहेका नेप्से स्रोत बताउँछ । ‘ब्रोकरहरु मुख्य रुपमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने बिषयले तर्सिएका छन् ।’ स्रोतले भन्यो–‘ आम्दानी समेत घट्ने देखिएपछि अनलाइन कारोबार प्रणालीको सिस्टम तथा पूर्वाधार विकासमा खर्च गर्न लोभ गरिरहेका छन् । यसको नकारात्मक असर अनलाइन कारोबार प्रणालीको कार्यान्वयनमा परिरहेको छ ।’ 

नेप्सेका ती अधिकारीका अनुसार ब्रोकरहरुलाई साउन १ गतेदेखि नै मोक परीक्षणमा जान भनिएको थियो, तर उनीहरु सिस्टममै अपग्रेड नभएका कारण पछाडि हटे र यो काम सुरु हुन अझै १५ दिन लाग्नसक्छ । 

आफूले गर्ने लगानी तथा तयार गर्नुपर्ने पूर्वाधार समेत नेप्सेले नै तयार गरिदिने हो कि भन्ने बिषयमा कतिपय ब्रोकरहरुमा भ्रम समेत देखिएको छ । ‘यही भ्रम चिर्न उनीहरु आफ्नै खर्चमा श्रीलंका लगायतका देश घुम्न गएका छन् ।’ नेप्से स्रोतले भन्यो  ।

जानकारहरुका अनुसार भारत, श्रीलंका लगायतका देशका ब्रोकरहरुले समेत आफ्नै सर्भर मेन्टेन गरेका छन् । त्यहाँका स्टक एक्सचेञ्जले प्राइसको गेट्वे मात्र दिने काम गरेको छ । ब्रोकरमा आफ्नै टेक्निसियन उपलब्ध हुनुपर्छ । आफ्नो सर्भर हुनुपर्छ । एक्सचेञ्ज सोलुसनले म्याचिङ गर्ने काम मात्र गर्छ, बाँकी ब्रोकरेजको काम आफैंले डेभलप गर्ने अभ्यास रहेको छ । 

नेप्सेका अधिकारीले लगाएको आरोपप्रति एक ब्रोकरले केही प्रतिशत सत्यता भएको स्वीकार गर्दै टेक्नोलोजी कस्तो आउने, कस्तो ब्याकअप राख्ने भन्ने बिषय स्पष्ट हुन नसकेर समेत अन्यौलको अवस्था देखिएको दाबी गरे ।