काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक टेस्टिङ आउने साता हुने भएको छ । 

डेटा सेन्टरको हार्डवेयरले काम नगरेपछि अघिल्लो साता नै सुरु हुने भनिएको मोक टेस्टिङ केही ढिला भएको नेप्सेका प्रमुख चन्द्रसिंह साउदले दाबी गरेका छन् । 

‘डेटा सेन्टरको हार्डवेयरमध्ये केहीले काम गरिरहेको छ, केहीमा समस्या देखिएको छ ।’ उनले बिजशालासँग भने–‘यो बाहेक अन्य समस्या केही छैन, हामी तयारी अवस्थामा बसेका छौ ।’ 

हार्डवेयरमा देखिएको समस्या समाधानमा प्राविधिक टिमले दिनरात नभनी काम गरिरहेको दाबी गर्दै यो समस्या समाधान हुने र आउने साताभित्र मोक टेस्टिङ सुरु गरिने साउदले प्रष्ट पारेका छन् । 

‘अब मोक टेस्टिङका लागि हामी पनि तयार छौ, ब्रोकर लगायतका पक्ष पनि तयार छन् ।’ साउदले भने–‘टेक्नोलोजीको कुरामा भनिएकै बेला नहुने रहेछ, त्यही भएर यसअघि भनेको समयमा गर्न सकेनौ ।’ 

उनले अनलाइन प्रणालीको यूजर एसेप्टेन्स टेस्ट(यूएटी) समेत अन्तिम चरणमा पुगेकोले अब सकेसम्म चाँडो पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पूर्ण कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । ‘सकेसम्म हामी दशैंअघिदेखि नै अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउनेछौ ।’ साउदले भने–‘प्राविधिक कुरा हो, एकदुई दिन यताउता हुनु ठूलो बिषय होइन ।’

मोक टेस्टिङ र यूएटी सकिएपछि अनलाइन प्रणाली कार्यान्वयनका लागि योग्य हुनेछ । त्यसपछि नेप्सेले सो प्रणाली कार्यान्वयनको अनुमति माग्दै धितोपत्र बोर्डलाई पत्र लेख्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि अनलाइन प्रणालीको औपचारिक कार्यान्वयन सुरु हुनेछ । 

अनलाइनका लागि सिडिएससी पनि तयार
यसैबीच, पूर्ण स्वचालित अनलाइन प्रणालीको मोक परीक्षण र त्यसपछिको पूर्ण कार्यान्वयनका लागि सिडिएससी समेत तयारी अवस्थामा छ । 

प्राथमिक बजारमा आवेदन प्रक्रियालाई सहज र छिट्टै ईडीआईएस सेवा पनि सुचारु गरेर आम सेयर लगानीकर्ताको ताली पाएको सिडिएससीले निकट भविष्यमा संचालन हुने पूर्ण अनलाइन प्रणालीअनुसार कारोबार राफसाफमा पनि उच्च अत्याधुनिक प्रविधिको ब्याकअप राखेर तयारी अवस्थामा बसेको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन ।

मोक टेस्टिङ्गमा पनि कारोबार राफसाफ गर्नुपर्ने हुन्छ । मोक एउटा भर्चुअल भए पनि अथवा अर्थ नराखे पनि एक किसिमको टेस्टिङ्ग हो जसले त्रुटि सच्याउन र प्रविधि सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

प्रवक्ता न्यौपानेले भने–‘अहिले घटिरहेको बजारमा औसत दैनिक ५ हजार कारोबार राफसाफ गर्नुपरिरहेको छ, तर हामीसँग पर्याप्त ब्याकअप क्षमता छ । हामीलाई १ लाख कारोबार सेटलमेन्ट गर्न पनि सक्ने क्षमतामा छौं । हामीले त्यस किसिमका अप्ठ्याराहरुलाई समाधान गर्न मोक प्रणालीअनुसार राफसाफ गर्न तयारी अवसथमा छौ।