-भक्तराज रसाइली

काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मोक टेस्टिङ सुरु भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीका प्रमुख सरोकारवालासहित सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मोक टेस्टिङ सुरु भएको उल्लेख गरेको हो । 

सोही पत्रकार सम्मेलनमार्फत नेप्सेले मोक टेस्टिङको यूजर म्यानुअल समेत सार्वजनिक गरेको थियो । यूजर म्यानुअलका आधारमा लगानीकर्ता तथा सम्बद्ध सरोकारवाला पक्षले मोक टेस्टिङमा आफ्नो सहभागिता जनाउन सक्नेछन् । 

नेप्सेले २ साताअघि नै मोक टेस्टिङ सुरु हुने भने पनि त्यो भएन । केही समय ब्रोकरले नेप्सेलाई असहयोग गरेको खबर बाहिरिएको थियो भने त्यो खबरमाथि टिप्पणी गर्दै नेप्से प्रमुख चन्द्रसिंह साउदले डेटा सेन्टरको हार्डवेयरले काम नगरेपछि चाहि ढिलो भएको दाबी गरेका थिए । तर, ब्रोकरहरुलाई डेटा सेन्टरका लागि क्लाउड उपलब्ध गराएको एक्सेस वर्डले भने हार्डवेयर वा सिस्टममा खराबी नआएको, बरु नेप्सेको आन्तरिक लफडा र अन्य केही कारणले मोक टेस्टिङ ढिला भएको दाबी गरेको छ । जेहोस् आरोप प्रत्यारोपका बीच नेप्सेले मोक टेस्टिङ सुरु गरेको हो । यो लगानीकर्ताका लागि सुखद कुरा नै हो । 

मोक टेस्टिङ सुरुवातको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेप्से प्रमुख साउदले आफूहरु र ब्रोकरबीच कुनै पनि खालको असहमति नभएको प्रष्टीकरण दिन समेत भ्याएका थिए । 

अघिल्लो साता चाहि साउदले हार्डवेयरमा देखिएको समस्या समाधानमा प्राविधिक टिमले दिनरात नभनी काम गरिरहेको दाबी गर्दै यो समस्या समाधान हुने र आउने साताभित्र मोक टेस्टिङ सुरु गरिने बिजशालालाई बताएका थिए । यो पटक भने साउदले भनेकै समयमा मोक टेस्टिङको काम सुरु भएको छ । 

मोक टेस्टिङ र यूएटी सकिएपछि अनलाइन प्रणाली कार्यान्वयनका लागि योग्य हुनेछ । 

मोक टेस्टिङमार्फत लगानीकर्तालाई अनलाइन प्रणाली प्रयोगमा अभ्यस्त बनाउने नेप्सेको योजना छ । यसका लागि ७ हप्ता भन्दा बढी समय लाग्ने पत्रकार सम्मेलनमा बताइएको छ । 

मोक टेस्टिङ्गमा पनि कारोबार राफसाफ गर्नुपर्ने हुन्छ । मोक एउटा भर्चुअल भए पनि अथवा अर्थ नराखे पनि एक किसिमको टेस्टिङ्ग हो जसले त्रुटि सच्याउन र प्रविधि सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
(मोक टेस्टिङका लागि नेप्सले प्रकाशित गरेको यूजर म्यानुअल अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस्।)