काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको औपचारिक थालनीको अघिल्लो दिन सेयर बजारमा दोहोरो अंकको उछाल आएको छ । 

यसलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्ताको विश्वासको रुपमा हेरिएको छ । भन्दै आएजस्तो अनलाइन सेयर कारोबार प्रणालीले सेयर बजारको विकास र बिस्तार गर्दै दायरा फराकिलो बनाउन सकेन भने पूर्वसन्ध्यामा देखिएको लगानीकर्ताको उत्साह निराशामा परिणत हुन कत्ति पनि बेर लाग्दैन । 

मंगलबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा एक भव्य समारोहको आयोजना गरी नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात गर्दैछ । बिहान १०ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको अफिसियल लञ्च गर्ने कार्यक्रम तय भएको छ । यही कार्यतालिका सार्वजनिक भएपछि त्यसबाट उत्साहित लगानीकर्ताले बजारमा खरिदारी बढाउँदा सोमबार दोहोरो अंकले नेप्से बढेको हो । 

यो दिन नेप्से परिसूचक ११.९२ अंकले बढी १२१९.२० अंकको उचाईमा पुगेको हो । यो दिन सेन्सेटिभ इण्डेक्स २.५१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९ अंकको बढोत्तरी देखिएको छ । 

बजारका सबै समूहको सूचक हराभरा भएका छन् । बैंकिङ समूह ११.५२ अंकले बढेको यो दिन होटल समूहमा ३७.६२ अंक, विकास बैंक समूहमा १३.५९ अंक, जलविद्युत समूहमा ७.५९ अंक, बित्त समूहमा २.०७ अंक, निर्जीवन बिमा समूहमा ८७.४५ अंक, उत्पादनमूलक समूहमा ०.७ अंक, माइक्रोफाइनान्स समूहमा १७.९८ अंक, जीवन बिमा समूहमा ४९.६२ अंक र अन्य समूहमा २.९ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँमा किनबेच भएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै उत्साहजनक वित्तीय विवरण पस्किएको प्रभू बैंकले यो दिन सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीले ४ करोड २८ लाख बढीको कारोबार गरेको छ । 

यो दिन नेपाल टेलिकमले २ करोड १३ लाख, एनआइसी एशियाले १ करोड ६१ लाख, जनता बैंक नेपालले १ करोड २१ लाख, नेपाल बैंकले ९३ लाख, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ८६ लाख, कुमारी बैंके ७६ लाख, एनएमबी बैंकले ६१ लाख, मुक्तिनाथ विकास बैंकले ६० लाख र एभरेष्ट बैंकले ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्तका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतले वृद्धि भयो ।

सिर्जना फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १.८६ प्रतिशतले घट्यो ।