-भक्तराज रसाइली
काठमाण्डौ । कात्तिक २०, मंगलबार नेपाली सेयर बजारले फड्को मारेको दिन । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको औपचारिक सुरुवातसँगै विश्वभर फैलिएका लगानीकर्ताले एक क्लिकमा सेयर खरिदबिक्री गर्न सक्नेछन् । 

हकिङ्ग सिस्टम हुँदै २०६४ सालमा सेमी अनलाइन र आज २०७५ साल कात्तिक २० गतेको दिनबाट पूँजी बजारमा पूर्ण अनलाइन प्रविधिभित्र्याउन नेपाल स्टक एक्सचेञ्जको कदम र प्रयास सराहनीय छ । नेप्सेले  पूर्ण अनलाइन प्रविधि भित्र्याउन मात्र १९ करोड खर्च गरेको छ । यो खर्चको सान्दर्भिकता भविष्यमा पुष्टि हुने छ भन्ने नै आशा गर्न सकिएला ।

यही सन्दर्भमा नेपाली सेयर बजारका लागि कोशेढुंगा मानिएको बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको सुरुवात भएपछि हामीले सरोकारवालाहरुसँग उनीहरुको प्रतिक्रिया लिएका छौ । हेरौं उनीहरुको भनाई:

चन्द्रसिंह साउद(सीइओ)-नेप्से
अनलाइन प्रणालीको सुरुवातलाई पूँजीबजारमा सकारात्मक पाइलाका रुपमा लिन चाहन्छु र आफ्नै कार्यकालमा मैले अनलाइन भित्र्याउन पाएकोमा खुशी पनि छु र सबैलाई ठूलो खुशीको कुरा पनि हो। सबै जिल्लाभर सेयर कारोबारको पहुँच पुर्याउनु चुनौतिपूर्ण त छदैछ नै बजारमा यो प्रणालीले पारदर्शिता व्यापक हुनेमा म विश्वस्त छु । पहिले सेयर बजारमा शारीरिक तथा मानसिक तनाव हुन्थ्यो, जुन मैले पनि भोगी आएको थिएँ र सोही बखतमा  मेरो मनमा पनि अनलाइन ल्याउनु पर्ने भावना आउथ्यो, मेरो त्यही सपना आज पूरा भएको छ । अनलाइनमा आउने त्रुटिलाई क्रमिक रुपमा सुधार गर्दै जाने नेप्सेको आगामी कार्यतालिका हुनेछ । 

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन अफ नेपाल 
वास्तवमा आज पूँजीबजारका लागि अनलाइनको उद्घाटनले अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणालीका लागि प्रमुख मेरुदण्डको भूमिका खेलेको महसुस गर्दैछु । यसले सेयर बजारमा सहयोगी भूमिका र कारोबार रकम बढ्नेछ । अनलाइन प्रविधिले बजारको दायरा बढाउने र नयाँ लगानीकर्ताहरुको सहभागिता र सक्रियता पनि बढ्ने कुरामा म ढुक्क छु । 

रबिन्द्र भट्टराई-सेयर बजारविज्ञ
पूर्ण अनलाइन बजार वृद्धिको आधार हो। विगतमा हरेक प्राविधिक परिवर्तनपछि सेयर बजारमा बुलिस प्रवृति देखिएको इतिहास छ । यो प्रणाली अर्को बुलिसको आधार बन्छ । यद्यपि नेप्सेले सुरुवात गरेको यो प्रणाली अन्तर्राष्ट्रिय गुणस्तरको भने छैन । 

नवराज सुवेदी(अध्यक्ष)-नेपाल पूँजीबजार संघ 
अझै लगानीकर्ताको अपेक्षा पूरा भएको छैन। सेयर लगानीकर्ताहरुले मङ्सिर पहिलो हप्ताबाट आफैं खरिदबिक्री गर्न पाउने भएकाले पूँजीबजारको सुनौलो दिन आउन लागेको देखिन्छ । आगामी आइतबारदेखि कारोबारबाट मात्र अलिक थाहा पाईन्छ । नयाँ प्रविधिलाई हामीले स्वागत गर्नुपर्छ र राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु । बिदेशी लगानीकर्ताको  पनि सेयर बजार प्रवेश पछि पूँजीबजार थप मजबुत हुने आशा छ ।

राधा पोख्रेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ  
आज बहुप्रतिक्षित अनलाइन सिस्टम आएको दिन भएकाले हामी सम्पूर्ण खुशी छौँ । यसलाई अलिक पूर्ण अनलाइन भन्न पनि मिल्दैन । चेक नगद दिन ब्रोकरकैमा जानुपर्ने बाध्यता हुनेछ  । यद्यपि अनलाइनले बजारमा राम्रो फड्को मार्ने कुरामा आशा राखेका छौं । 

ऋषिराम गौतम-लगानीकर्ता 
सेयर बजारमा डिम्याट सुरुवात भएको दिन र आजको दिन ऐतिहासिक हो । अब सेयर  कारोबार विद्यार्थी ,किसान , कर्मचारीले ब्रेकटाइममा आफ्नै हैसियत अनुसार हातहातबाट कारोबार गर्न पाउने छन् । बिदेशमा बस्नेले पनि कारोबार गर्न पाउने भएकाले राम्रो हो । टेस्टिङ्ग फेजमा नेप्सेले एक्स्पर्टिजम प्रयोग नगरेकोमा दुःख लागेको छ अर्थात् हामीले पठाएको प्रतिक्रियालाई सुधार गर्न तत्परता नदेखाएको देखिन्छ । त्रुटिहरु धेरै छन, आशा गरौं सुधार हुँदै लगानीकर्ताले अनलाइनबाट भरपूर फाइदा लिन सक्नेछन् ।

नारायण देशार(सीइओ)-नेपाल सेयर हब 
आज ऐतिहासिक दिनका रूपमा लिन चाहन्छु । क्रमशः पूँजीबजारले अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याएको भान हुन्छ ।यसले मार्केट इफिसियन्सी बढ्नमा ढुक्क हुन सकिन्छ साथै अब यसले अझ सेन्सेटिभ बनाइदिएको कारणले प्राविधिक विश्लेषण र सजग भएर लगानी गर्न माहोल बनाउनेछ । लगानीकर्ताको सहभागिता बढ्न सक्नेछ ।