काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका समस्याहरुको पहिचान गरी समाधान गर्न थालिएसँगै कारोबारमा लगानीकर्ताहरुको सहभागिता बढ्न थालेको देखिएको छ । यही कारण मंगलबार सेयर बजार परिसूचक(नेप्से) १३.९७ अंकले बढेर १२०७.३१ को विन्दूमा फर्किएको छ भने १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याइएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा सुरुवाती दिनहरुमा निकै धेरै समस्या आइरहेका थिए ।

लगानीकर्ता तथा ब्रोकरले भोगेका समस्याको निराकरणका लागि नेप्सेले तीव्र गतिमा काम अगाडि बढाएसँगै समस्या न्यूनिकरण हुँदै गर्दा अनलाइन सिस्टममा लगानीकर्ताको सहभागितामा सुधार भएको देखिएको हो । यहीकारण अनलाइन कारोबार प्रणाली सुरुवात भएपछि पहिलोपटक बजार परिसूचक दोहोरो अंकले बढेको देखिएको छ । 

केही समस्याहरु समाधान भइसकेका भए पनि बाँकी रहेका केही समस्या समाधानका लागि पहल भइरहेको नेप्सेस्थित स्रोतले जनाएको छ । ब्रोकर र लगानीकर्तालाई नयाँ सिस्टममा कारोबारका लागि अभ्यस्त बनाउन नेप्सेले विशेष तालिम नै आयोजना गर्ने तयारी गरिरहेको छ भने यूसीसीका लागि केवाइसी अपडेट गर्नुपर्ने नेप्सेको सूचनाले समेत केही काम गरेको देखिएको छ ।

सफ्टवेयरले मागेको सबै विवरण नभरेसम्म लगानीकर्ताले अनलाइन कारोबारमा सहभागिता जनाउन नसक्ने भएकोले समेत यसअघिका दिनमा समस्या बढी देखिएको नेप्सेको सीइओ चन्द्रसिंह साउदको भनाई छ । 

मंगलबार बित्त समूहको सूचक ०.२५ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ । बैंकिंग समूह १४.६९ अंकले बढेको छ भने होटल समूह ३६.५७ अंक, विकास बैंक समूह १२.५९ अंक, निर्जीवन बिमा समूह ७५.१४ अंक, जीवन बिमा समूह ७७.०९ अंक, माइक्रोफाइनान्स समूह १०.५८ अंक, जलविद्युत समूह ०.२८ अंक र अन्य समूह ६.५६ अंकले बढेका छन् । 

यो दिन बजारमा १ सय ५० कम्पनीका ६ लाख ५५ हजार ५ सय ९७ कित्ता सेयर १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्रभू बैंकले सबैभन्दा बढी १ करोड ४३ लाख बढीको कारोबार गरेको छ । यस्तै, अपी पावर कम्पनीले १ करोड १६ लाख, एनआइसी एशिया बैंकले ८२ लाख, मेगा बैंकले ७८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७२ लाख, नेपाल बैंकले ६१ लाख बढीको कारोबार गरे । 

सिद्धार्थ बैंकको ४४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले ४४ लाख, माछापुच्छे बैंकले ४२ लाख र एनएमबी बैंकले ४१ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट ब्रेक हानेको छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरी भयो ।

एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा करिब ९ प्रतिशतको गिरावट आयो ।