काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनपछि बढ्ने आशा गरिएको बजारले उल्टो गति समात्न थालेपछि आत्तिएका लगानीकर्ता मंगलबार नेपाल स्टक एक्सचेञ्ज घेर्न पुगेका छन् । 

उनीहरुले नेप्से घेराउ गर्दै प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

नेपाल पूँजीबजार लगानीकर्ता संघले लगानीकर्ताको तर्फबाट ज्ञापनपत्र बुझाएको हो । 

संघले अनलाइन कारोबार प्रणाली कार्यान्वयनको १५ दिन बितिसक्दा समेत सुधार नभएको र बजार उल्टो गतिमा दौडिरहेको भन्दै अनलाइनलाई असफल बनाउने प्रयास कतैबाट भएको हो कि भन्ने आशंका समेत व्यक्त गरेको छ । त्यस्तो प्रयास कहाँ र कोबाट भइरहेको छ भन्ने बिषय चाहि संघले ज्ञापनपत्रमा खुलाएको छैन । 

अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अनलाईनको यस्तो पारा देखेर लगानीकर्ता निराश हुँदा अनलाईन आएपछि निरन्तर बजार घटिरहेकोे र तुरुन्तै यो अनलाईन ट्रेडिङमा सुधार गरी एक दुई दिनभित्रमा लगानीकर्ताको हातमा अनलाईन नसुम्पिए आन्दोलनको चेतावनी समेत दिइएको छ । 

‘यदि अनलाईन ट्रेडिङमा अब पनि कुनै सुधार आएन र लगानीकर्ताले अनलाईन मार्फत सेयर कारोवार गर्न पाएनन् भने सबै संघहरुको अगुवाइमा हजारौं लगानीकर्ता ल्याएर नेप्से घेर्न बाध्य हुनेछौ ।’ ज्ञापनपत्रमा चेतावनी दिंदै भनिएको छ । 

संघले तामझामका साथ उद्घाटन गरिएको अनलाइन कारोबार प्रणाली बजारका लागि कोशेढुंगा साबित हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेको छ । ‘अन्तर्राष्ट्रिय बजारको इतिहास हेर्दा अनलाईन आएपछि ६० प्रतिशतसम्म बजार बढेको रअनलाईन ट्रेडिङ आएपछि बजार राम्रो हुन्छ भन्ने हामी लगानीकर्ताले सुनेका पढेका थियौं, त्यही आधारमा हाम्रो बजार पनि राम्रो हुन्छ भन्दै लगानीकर्ताले सेयरमा लगानी गरेका छ्न ।’ ज्ञापनपत्रमा अगाडि भनिएको छ–‘तर अनलाईन ट्रेडिङमा पन्ध्रौं दिनसम्म पनि कुनै सुधार नदेखिएकोले कतै यो अनलाईन असफल बनाउन लागिएको त होईन भन्ने आंशका हाम्रो संघलाई लागेको छ ।’