-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले  नेप्से अनलाइन ट्रेडिङ सिस्टम(NOTS) आम लगानीकर्ताहरुको सहजताका लागि लागू गरिएको भने पनि २ महिना कटिसक्दा समेत सिस्टम तंग्रिने अवस्था छैन । यो प्रणालीको पूर्ण कार्यान्वयन गरिएको भनिए पनि तथ्यहरुले नेप्सेले अझै यो प्रणालीको परीक्षण नै गरिरहेको देखाउँछ । 

नेप्सेले अहिलेसम्म अनलाइन ट्रेडिङ सिस्टम NOTS नै लागू नगरी टीएमएस(TMS) मात्रै प्रयोग गरिरहेको जानकार बताउँछन् । 

नेप्सेले तत्काल नै प्रकाशित गर्नुपर्ने फ्लोरसिट समेत बेलुकी ५ः३० बजे डाटा दिएर ब्रोकर र लगानीकर्ताहरुलाई गूमराहमा राखिरहेको समेत कतिपयको गुनासो छ ।

बजारका एक सक्रिय लगानीकर्ता दीपक दाहालले जनताको पैसामा खेलबाड गर्ने कहिलेसम्म भन्दै नेप्सेको रबैयाप्रति आक्रोशत व्यक्त गरेका छन् । 

'बरु नेप्सेले आफ्नो वेबसाइट तत्कालै बन्द गर्दा हुन्छ ।' दाहालले भने-'गलत जानकारी नदिनु, गलत जानकारीले गलत विश्लेषण हुने हुँदा तत्काल अण्डर कन्स्ट्रक्सन भन्दै बन्द गर्दा सबैको भलो हुन्छ ।' 

मूल्य बढाबढमा अर्डर राख्दा समेत सिलिङ्ग भन्दा बढीमा कारोबार भइरहेको दाहाल बताउँछन् । 

'अड्जस्टेड  बजार  पूँजीकरण अपडेट हुन नसकिरहेकोले अझै कहिलेसम्म लगानीकर्तालाई गुमराहमा राख्दै टेस्टिङ्ग गरिरहने हो ?'-उनले प्रश्न गरे ।

फ्लोरसीट ,आजको सेयर मूल्य ,र फ्रण्ट पेजबाट गलत तथ्यांकले हैरानी भएको र ४ ५ घण्टापछि मात्रै मिलाइएको देखिन्छ । 

'के यही हो पूर्ण अनलाइन ? बोनस सेयर एडजस्ट भए पछि पूजी बजारीकरणमा एडजस्ट हुनुपर्नेमा त्यो समेत भएको छैन ।'-दाहालले थपे ।

पछिल्लोपटक कालिका माईक्रोफाइनान्समा समेत नेप्सेले सिस्टमको कमजोरीको फाइदा उठाउँदै लगानीकर्तामा खेल्ने काम गरेको एक विश्लेषक दाबी गर्छन् ।

आधिकारिक जानकारी नै नपुगी फुकुवा भएको र आफू पनि प्रष्ट नहुँदा नेप्सेको पारदर्शितामा शंका रहेको उनको भनाई छ ।

डाटा एक्युरिसी नभएको र बग्रेल्ती गडबडी रहेकोले अनलाइन प्रणालीको परीक्षण मात्र भइरहेको ती विश्लेषकको तर्क छ । 

संसारमा सेयर कारोबार गर्दा आधारभूत र प्राविधिक विश्लेषणको सहयोग लिई  व्यक्तिगत तथा संस्थागत लगानीको निर्णय गरिने चलन रहेको छ । यो चलन नेपालमा समेत छ । 

प्राविधिक विश्लेषणका आधारमा लगानी गर्ने निराञ्जन पाण्डेले नेप्सेको काम नलाग्ने प्रणालीको केही कमजोरीलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन्:

उदाहरण-१
नेप्सेले कारोबार समयपछि कुनै पनि कम्पनीको क्लोजिङ्ग मूल्य नै नराखेको देखिन्छ । यसले गर्दा भ्रम सिर्जना भएको छ र गलत तथ्यांकले गलत निर्णयमा सघाउ पुगेको छ । 

उदाहरण-२
आरबीसीएलको सेयरमा तथ्यांक म्याच नभएको तथ्य प्रमाण छ । फ्लोरसीटमा १०/१० कित्ता ९५०० मा कारोबार भएको, तर मार्केट डेप्थमा ओपनिङ्ग ९४५६ /उच्च,  ९६००/ न्यून ९४५६ देखिन्छ, तर वास्तविकतामा ९४५६ मा कारोबार नै भएको छैन  । यसले डाटा एक्युरेसी नभएको देखाउँछ । यसमा ईआईसीको हिस्ट्री डाटामा तीन दिनको मूल्य ६३१/५७४/५७४ रहेकोमा उसले फिर्ता लिएको समायोजन मूल्यमा डाटा नसच्याउनु कति सम्मको लापरबाही हो ?

उदाहरण-३
अपी हाइड्रोपावरको बूक क्लोजको नोटिस राखिएन, यसले नेप्सेको पारदर्शितामा शंका गर्न सकिन्छ ।

उदाहरण-४
मुक्तिनाथ विकास बैंकको बोनस पश्चात् मूल्य समायोजन भयो, तर मूल्य समायोजन सिस्टममा आएन । अझ त अझैसम्म पनि सन् २०१८/१२/0४ को डाटा नै नराख्ने नेप्सेको चरम लापरबाही भएन र ? यसरी सम्पत्ति ब्लक राख्ने नेप्से को हो ?

उदाहारण-५
सन २०१८/११/२९ को मितिमा सीआइटीको अधिक २२०० न्यून २१७० र क्लोज १७९१ सिस्टममा देखिन्छ । क्लोजिङ्ग १७९१ हुनुपर्नेमा न्यून १७९२ हुनुपर्ने होइन र ? अनि यसरी गलत जानकारी कहिलेसम्म दिइरहने नेप्सेले?