-भक्तराज रसाइली 
काठमाण्डौं । ब्रोकर र लगानीकर्ताबीच अनलाइन कारोबारका लागि हुने सम्झौतापत्रमा त्रूटि भएका खण्डमा लगानीकर्ता मात्र जिम्मेवार हुने प्रावधानलाई संसोधन गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदले आश्वासन दिएका छन् ।

आफूसँग गुनासाहरु लिएर आएका सेयर लगानीकर्ता दबाब समूहका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोला लगायतको एक समूहलाई साउदले त्यस्तो आश्वासन दिएका हुन् ।

प्राविधिक त्रुटिका लागि ब्रोकर र लगानीकर्ताबीच हुने सम्झौतापत्रमा लगानीकर्ता नै जिम्मेवार हुने बुँदा गलत रहेको र नेप्से, ब्रोकर र लगानीकर्तामध्ये जोकोहीबाट त्रुटि हुने भएकाले सो बुँदा तत्काल संसोधन हुनुपर्ने समूहका दीपेन्द्र अग्रवाल माग गरेका थिए । 

उनले २५ प्रतिशतको लिमिट क्लोजआउटको ग्यारेन्टीका लागि ब्रोकरले नराखी नेप्से स्वयम्ले राख्नुपर्नेमा जोड दिएका थिए । अग्रवालले त्रुटिको जिम्मेवारी ब्रोकर वा नेप्सेले लिनुपर्ने गरी सम्झौतापत्र संसोधन हुनुपर्ने माग गरेका थिए ।

लगानीकर्ताको कुरा सुनेपछि नेप्सेका सीइओ साउदले लगानीकर्ता तल पर्ने गरी तयार भएको सम्झौतापत्रमा तत्काल परिवर्तन गर्न सकिने आश्वासन दिएका हुन् ।

अनलाइन प्रणालीमा भएका विविध कमजोरी र ब्रोकर लाइसेन्स थप गर्ने विषयमा चलखेलको गन्ध आएको भन्दै लगानीकर्ताहरुको एक समूह बुधबार नेप्सेमा डेलिगेसन गएको थियो । 

साउदले बोर्डको निर्देशन आए ब्रोकर लाइसेन्स १ घण्टाभित्र दिने आश्वासन दिएका उल्लेख गर्दै अग्रवालले नेप्सेले थप ब्रोकर लाइसेन्सका लागि बनाएको समितिलाई संख्या तोक्ने अधिकार दिए चलखेल हुनसक्ने भन्दै सचेत गराएका थिए । 

उनले ब्रोकर संख्यामा नेप्सेबाटै चलखेल भइरहेको दाबी गर्दै यो नरोकिए माघ ७ गतेदेखि नेप्सेमा पुनः अनसन थाल्ने चेतावनी समेत दिएका थिए । 

‘समिति गठन गरेर नेप्सेले थर्ड ग्रेडको काम गरेको छ । अब नेप्से हिरो बन्ने कि भिलेन ? हामीले नजिकबाट नियालिरहेका छौ।’ अग्रवालले प्रश्न गर्दै भनेका थिए ।

यसैबीच, नेप्सेबाट थप ब्रोकर लाइसेन्स जारीका लागि बनाइएको समितिका संयोजक निराजन फुयाँलले नयाँ ब्रोकर लाइसेन्स थपको विषयमा सम्पूर्ण काम सकिसकेको जिकिर गरे । 

ओपन इन्ट्री ओपन एक्जिटको मोडलमा जाने वा संख्या तोक्न पनि सकिने फूयाँलको भनाई थियो । नेप्सेले बनाएको समितिले सिफारिस मात्र गरिदिने, तर बोर्डले स्वीकृति दिने भएकाले ब्रोकर संख्या भने धितोपत्र बोर्डले नै फाइनल गर्ने संयोजक फुयाँलको भनाई थियो ।

दबाब समूहलाई सीइओ चन्द्रसिंह साउदले थप ब्रोकरको संख्या तोक्ने भन्दा पनि भरसक ओपन इन्ट्री,  क्लोज एक्जिटको मोडलमा ब्रोकरको थपको व्यवस्था गर्न बोर्डसमक्ष अपील गरिने आश्वासन समेत दिएका थिए ।