-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाइन ट्रेडिङ्ग सिस्टममा दिनहुँ ठूला समस्याहरु आई बजार प्रभावित हुन थालेपछि यसको समाधान खोज्न नेप्से, वाइको र ब्रोकरबीच शुक्रबार छलफल हुने भएको छ । 

स्रोतहरुले यो छलफललाई ‘गम्भीर र निर्णायक’ भनेका छन् । कतिपय ब्रोकरहरुले त यही छलफलमा हालको सिस्टमलाई स्थगन गरी पहिलाकै सिस्टम कार्यान्वयन गर्न र ३ महिनाको तयारीपछि मात्र फेरि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव समेत सो छलफलमा पेश गर्ने स्रोतहरु दाबी गर्छन् । 

यो छलफल नेप्सेका सीइओ चन्द्रसिंह साउद र स्टक ब्रोकर अशोसिएसनका अध्यक्ष भरत रानाभाटको पहलमा हुन लागेको बताइएको छ । छलफलमा अनलाइन कारोबार प्रणालीका कमजोरी, यसको प्रयोग गर्दा खेप्नु परेका हैरानी र त्यसको सुधारका लागि अपनाउनसकिने विकल्पहरुको विषयमा समेत छलफल हुने बताइएको छ । 

शुक्रबार १२ बजे नेप्सेमा छलफल डाकिएको छ । 

कार्यान्वयनको पाँच महिना बितिसक्दा समेत नेप्सेको स्वचालित अनलाइन प्रणाली(नट्स)मा दिनहुँजसो अनेकन गम्भीर समस्याहरु आउने क्रम नरोकिएपछि यो छलफल हुन लागेको हो ।

अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाकै कारण बजारप्रति लगानीकर्ताको विश्वास टुटिरहेको र यसले समग्र कारोबार प्रभावित हुँदा ब्रोकरहरु समेत गर या मरको अवस्थामा पुगेका छन् । कतिपय त अनलाइनकै कारण बजार प्रभावित भई आम्दानी घटेर पेशाबाटै पलायन हुने अवस्थामा पुगेका ब्रोकर निकट स्रोत दाबी गर्छ । 

त्यसो त गत मंगलबार पनि स्टक ब्रोकर एसोसिएसनको कार्यालय पुतलीसडकमा बसेको ब्रोकरहरुको बैठकले समेत हालको अनलाइन प्रणालीमा लापरबाही र कमजोरीको सीमा नाघिसकेको निश्कर्ष निकालेर अब पनि चूप लागेर बसे व्यवसाय नै धरापमा पर्ने बिषयमा सहमति जुटेको थियो । 

हाल वियरिस अवस्थामा रहेको बजारमा अनलाइन प्रणालीले बजारमा विश्वास सिर्जना भई कारोबार विस्तार र लगानीको दायरामा समेत वृद्धि आउने आशाविपरीत सिस्टमले दिनहुँजसो नै गम्भीर समस्या सिर्जना गरिरहेको र अब धेरै समय चूप लागेर नबसिने उल्लेख गर्दै नेप्से र वाइकोसँग निर्णायक छलफल हुन लागेको एक ब्रोकरले दाबी गरे । 

अनलाइन प्रणालीकै कमजोरीका कारण पूँजीबजारप्रतिको विश्वास कमजोर भई लगानीकर्ता विस्थापित भइरहँदा समेत अर्थमन्त्रालयले यो विषयमा चासो नदिनुलाई धेरैले चासोका साथ हेरिरहेका छन् । नेप्सेको अनलाइन प्रणाली उद्घाटनका क्रममा अर्थमन्त्री युवराज खतिवडाले सुरुवातका दिनमा केही सानातिना समस्याहरु आउन सक्ने भनिदिएका र त्यसैको आडमा अहिले नेप्से र वाइकोले झारा टार्ने काम गरिरहेका कतिपयको आरोप छ । 

अर्थमन्त्रालयकै लगानी रहेको स्टक एक्सचेञ्जमा आफैंले उद्घाटन गरेको प्रणालीले हावा खाएपछि अर्थमन्त्रीकै छविमा नराम्रो असर परिरहेको छ ।

अनलाइन प्रणाली बलियो, गुणस्तरीय र विश्वसनीय नहुँदा लगानीकर्ता बजारबाट बिमुख भइरहेका छन् । यसले पूँजी पलायनको डरलाग्दो अवस्था निम्त्याउन खतरा पनि उत्तिकै छ । देशको पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई समेत आश्वस्त पार्न नसकेको सरकारले चैत १५ र १६ गते आयोजना गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुलाई केको आधारमा लगानी सुरक्षा र रिटर्नको सुनिश्चितताको विषयमा ग्यारेण्टी गर्ने हो भन्ने बिषयलाई पनि चौतर्फी चासोको साथ हेरिएको छ । 

त्यसो त दोस्रो बजार सञ्चालक नेप्सेले अनलाइन कारोबार प्रणालीको निकै तामझामका साथ उद्घाटन गरिरहेकै बेला स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले हालको अनलाइन प्रणाली राम्रोसँग सञ्चालन गर्न नसकिने बताएका थिए । उनको त्यो अभिव्यक्तिलाई त्यसबेला अधिकांश लगानीकर्ता र बजार सम्बद्ध व्यक्ति तथा संस्थाले खुलेरै आलोचना गरे । तर, सो प्रणाली कार्यान्वयनमा आएको करिब ५ महिनापछि रानाभाटको त्यो विश्लेषण यथार्थमा परिणत भएको छ ।

बजारमा लगानी गर्ने अधिकांश लगानीकर्ताहरुले समेत नेप्सेको अनलाइन विषयमा गम्भीर आपत्ति मात्र जनाएका छैनन्, कतिपयले ठूलो रकम खर्चेर गुणस्तरहीन सफ्टवेयर ल्याइएको भन्दै यसमा चरम भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै हालिसकेका छन् ।

उता, नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)ले समेत कमजोर अनलाइन प्रणालीका कारण बजार चौपट भएको र लगानीकर्ता डूबिरहेका भन्दै गोप्य रुपमा छानबिन गर्न एक समिति समेत निर्माण गरेको थियो । तर, सो समितिबाट तयार भइसकेको प्रतिवेदन समेत गुपचुप राखिएको छ ।