काठमाण्डौ । सेयर बजारमा अनलाइन कारोबार प्रणाली लगभग असफल बनेको छ । 

यो प्रणालीप्रति लगानीकर्ताको विश्वास अत्यन्त न्यून रहनुले पनि यसलाई प्रमाणित गर्छ । अनलाइन कारोबार प्रणालीको सुरुवात भएको १३ महिना बढी भइसक्दा समेत यूजर र पासवर्ड लिएर अनलाइन कारोबार गर्ने लगानीकर्ताहरुको संख्या अत्यन्त न्यून रहेको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणालीको विश्वसनीयताप्रति लगानीकर्तालाई विश्वस्त पार्न नसक्दा, बरु नेप्से नेतृत्वबाटै अनलाइन कारोबार प्रणालीको कमजोर जगमा टेकेर बजारमा चलखेल गर्ने खेल हुन थालेपछि तर्सिएका लगानीकर्ता अनलाइनबाट कारोबार गर्न इच्छुक छैनन् भन्ने कुरा नेप्सेबाट सार्वजनिक पछिल्लो तथ्याङ्कले देखाउँछ । 

सेयर कारोबार गर्ने ५० वटा ब्रोकर कम्पनीहरुमा आबद्ध लगानीकर्ताहरुमध्ये १ प्रतिशतभन्दा थोरै बढीले मात्र अनलाइन कारोबारमा आबद्धता जनाएका छन् । यसले पनि सेयर बजारमा अनलाइन कारोबार प्रणालीको अवस्था निकै दयनीय रहेको र यो असफल भएको पुष्टि हुने विश्लेषक बताउँछन्। 

हाल यी ब्रोकर कम्पनीहरुमा १३ लाख ५८ हजार ७२७ लगानीकर्ता आबद्ध छन् । तीमध्ये १६ हजार ५७३ लगानीकर्ताले मात्र अनलाइन कारोबार प्रणालीमा सहभागिता जनाइरहेको पाइएको छ । जुन कुल लगानीकर्ताको १.२१ प्रतिशत मात्र हुन आउँछ । यो तथ्याङ्कले अझै पनि ९८.७९ प्रतिशत लगानीकर्ता अनलाइन कारोबार प्रणालीमा जोडिन नसकेको प्रस्ट हुन्छ । प्रणालीको सुरुवात भएको यतिका धेरै महिना बितिसक्दा समेत यति ठूलो लगानीकर्ताका संख्या बाहिरै रहनुले समेत अनलाइन कारोबार प्रणाली असफल भएको मान्न सकिन्छ । 
 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्वारा सोमबार जारी सूचीअनुसार सबैभन्दा धेरै भिजन सेक्युरिटिज र आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा आबद्ध लगानीकर्ता अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गरिरहेका छन् । यी दुवै कम्पनीमा क्रमशः १५ सय ३३ र १३ सय ९३ लगानीकर्ता अनलाइन प्रणालीमार्फत कारोबार गरिरहेका छन् । भिजनमा कुल १८ हजार ७०१ लगानीकर्ता आबद्ध रहेकोमा अझै पनि १७ हजार १६८ लगानीकर्ता अनलाइन कारोबार प्रणालीमा जोडिइसकेका छैनन् । 

त्यस्तै कुल २१ हजार ५१५ लगानीकर्ता आबद्ध रहेको आर्यतारामा अझै पनि २० हजार १२२ लगानीकर्ता अनलाइन कारोबार प्रणालीप्रति झुकाव नराखेको पाइएको छ । 

यसैगरी ठूलो संख्यामा लगानीकर्ता आबद्ध रहेको आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालिमा अनलाइन कारोबार प्रणाली अवस्था झनै दयनीय देखिएको छ । यो कम्पनीमा ५७ हजार ८२८ लगानीकर्ता आबद्ध रहेकोमा जम्मा ६४ लगानीकर्तामात्र अनलाइन प्रणालीमार्फत कारोबार गरिरहेको पाइएको छ । जुन ०.११ प्रतिशतमात्र रहेको पाइएको छ । 

लगानीकर्तालाई नेप्से अनलाइन कारोबार प्रणालीको विश्वसनीयतामा विश्वस्त पार्न नसक्नुले समेत अवस्था यति दयनीय भएको ब्रोकरहरु बताउँछन् । नेप्सेले अनलाइन कारोबार प्रणालीसम्बन्धी तालिम र यसमार्फत कारोबार गर्दा लगानी सुरक्षासम्बन्धी चेतना फैलाउन नसक्दा पनि यो अवस्था आएको उनीहरु बताउँछन् । 

अनलाइन कारोबार प्रणालीको विषयमा नेप्सेले झारा टार्ने उद्देश्यले मात्र सचेतना कार्यक्रम गर्दै आएको छ, त्यो पनि फाट्टफूट्ट । सामान्य कार्यक्रममा नेप्सेको जम्बो टोली जिल्लाका सुगम ठाउँमा जाने र मोटो रकम भत्ताबापत पचाउने बाहेक परिणाम आउने खालको काम नै हुन सकेको छैन । अनलाइन कारोबार प्रणालीको विषयमा निर्माणदेखि प्रमोसनसम्मको नाममा करोडौं खर्च भए पनि यसको आउटपुट भने दयनीय देखिएको छ । यस विषयमा भ्रष्टाचार भएको दाबी गर्दै लगानीकर्ताहरुले छानबिनको माग गरिरहेका भए पनि अख्तियारजस्ता निकायले ध्यान दिएका छैनन् ।