काठमाण्डौ । बजारमा बुल रन सुरु भएसँगै अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

बजारमा बुल रनको माहौलमा सक्रियसँगै निष्क्रिय र नवप्रवेशीहरु पनि सेयर कारोबारमा झुम्मिन थालेपछि अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या बढ्न थालेको हो । पछिल्लो एक महिनाको अवधिमा अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या झन्डै साढे १७ सयले बढेको हो । 

नेपाल स्टक एक्सचेन्जले हरेक महिना सार्वजनिक गर्ने ब्रोकरवाइज अनलाइन सेयर कारोबारीहरुको पछिल्लो दुई महिनाको तथ्यांकले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गएको देखाएको हो । तथ्यांक अनुसार पछिलो एक महिनाको अवधिमा अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या १ हजार ७४२ ले बढेर २० हजार ३२५ पुगेको छ । अघिल्लो महिना पनि अनलाइनबाट कारोबार गर्नेको संख्या २ हजार १० ले बढेर १८ हजार ५८३ पुगेको थियो ।

पछिल्लो तथ्यांकअनुसार ब्रोकर नं. ३४ भिजन सेक्युरिटिज प्रालिबाट सबैभन्दा बढी अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या १ हजार ५४२ पुगेको छ । अघिल्लो महिना यो ब्रोकर हाउसबाट अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या १ हजार ४५६ थियो ।

त्यस्तै ब्रोकर नं. ५७ आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजबाट पनि अनलाइन प्रणालीबाट कारोबार गर्नेहरुको संख्या १ हजार ४५७ पुगेको छ । अघिल्लो महिना यो ब्रोकर हाउसबाट अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या १ हजार ४२३ थियो ।

यसैगरी ब्रोकर नं. ४८ त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, ब्रोकर नं. ३५ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज र ब्रोकर नं. ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीबाट अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या क्रमशः १ हजार १५०, १ हजार ११६ र १ हजार ४७ पुगेको छ । 

उता चारवटा ब्रोकर हाउसहरुमा भने १ सयभन्दा कमले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन् । मार्केट सेक्युरिटिज, साइपाल सेक्युरिटिज, अरुण सेक्युरिटिज र आशुतोष सेक्युरिटिजबाट क्रमशः ९१, ९०, ८८ र ७७ जनाले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन् ।