काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको टेस्टिङ बिहीबारदेखि ५ वटा ब्रोकरमार्फत हुने भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले पूर्व निर्धारित टाइमलाइनअनुसार स्टक ब्रोकर एशोसिएसनलाई अनलाइन कारोबार प्रणालीको टेस्टिङका लागि ५ ब्रोकरको नाम सिफारिस गर्न पत्र पठाएको थियो । नेप्सेलाई एशोसिएसनले बुधबार पत्र पठाउँदै ५ वटा ब्रोकरको नाम सिफारिस गरेको हो । 

एशोसिएसनले अनलाइन प्रणाली टेस्टिङका लागि त्रिशक्ति सेक्युरिटीज, लिञ्च स्टक मार्केट, एबीसी सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटीज र मल्ल एण्ड मल्ल स्टक ब्रोकिंगलाई छनौट गरी पठाएको हो । 

अब नेप्सले यिनै ब्रोकरमार्फत अनलाइन प्रणालीको टेस्टिङको सुरुवात गर्नेछ । 

अनलाइन प्रणालीको कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले स्टक ब्रोकर एशोसिएसनले सन्तोष मैनालीको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा एशोसिएसनले ५ ब्रोकरको नाम सिफारिस गरी पठाइएको एक ब्रोकरले बताए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पूर्वयोजना अनुसार नै काम अगाडि बढिरहेको उल्लेख गर्दै छनौट भएका ब्रोकरले आफ्ना लगानीकर्तालाई नयाँ अनलाइन प्रणालीको टेस्टिङ असारको तेश्रो साताभित्र गराइसक्नुपर्नेछ । पहिलो चरणमा ५ वटा ब्रोकर छनौट भए पनि परीक्षणका लागि क्रमशः अन्य ब्रोकरहरुलाई समेत सिस्टम उपलब्ध गराइने सिंहले बिजशालालाई जानकारी दिए । 

असारभरिमा ट्रायलको रुपमा नयाँ सिस्टममा काम गरेपछि साउनदेखि त्यसलाई नै कार्यान्वयनमा ल्याइनेछ ।  

ब्रोकरहरुले परीक्षणसँगै नयाँ सिस्टमको बिषयमा फिडब्याक दिने र सो आधारमा सुधार गर्दै प्रणालीलाई सुरक्षित र लगानीमैत्री बनाउन कोशिश गरिने समेत उनले जानकारी दिए । 

‘साउन १ गतेदेखि नयाँ सिस्टमलाई हामी कानूनी मान्यता दिंदै कार्यान्वयनमा ल्याउनेछौ ।’ उनले भने–‘ सुरुवातमा पुरानो सिस्टमलाई पनि नयाँसँगै समानान्तर ढंगले लगिनेछ ।’ 

नेप्सेले पूर्ण अनलाईन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेष्ट(युएटी)का लागि कम्पनी छनौट काम समेत केही दिनभित्रै गर्नेछ र कुनै एक कम्पनी छनौट गरी सिस्टम सर्टिफाइड भएपछि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।

‘असार तेश्रो सातादेखि यूएटी सुरु हुन्छ ।’ उनले भने–‘लगानीकर्ता, ब्रोकर, भेञ्चर कम्पनी, नेप्से, सिडिएससी सबैसँग टेस्ट गरिसकेपछिको म्याटेरियल यूएटी गर्ने मानिसले धेरै समय लगाउँदैन । तसर्थ लगानीकर्ता ढुक्क बन्दा हुन्छ, अनलाइन सिस्टम साउन १ देखि नै सुरु हुन्छ ।’ 

उनका अनुसार यूएटी नयाँ सिस्टमका लागि रहेको र त्यसको समय ९० दिन रहेकोले त्यो अवधिमा नयाँ सिस्टममा बजार पूर्ण निर्भर हुने गरी सम्बद्ध कम्पनीले काम गर्ने बताए । ‘तर, साउन १ गतेदेखि नयाँसँगै पुरानो सिस्टम पनि सँग सँगै हुन्छ ।’ उनले भने–‘नयाँ सिस्टममा यूएटी गर्ने क्रममा कुनै समस्या भए पुरानो सिस्टमले त्यसलाई कभर गर्नेछ ।’