काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले बिहीबार पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै प्रत्येक ब्रोकरले कम्तीमा १ करोड रुपैयाँ अतिरिक्त लगानी जुटाउनुपर्ने अवस्था देखिएको छ । 

नेप्सेले बिहीबार सबै धितोपत्र दलाल कम्पनीलाई लिखित निर्देशन पठाउँदै अनलाइन कारोबार संचालनका लागि आवश्यक आफ्नै सर्भर, डाटा रिकभर, दक्ष जनशक्ति लगायतका पूर्वाधार यथाशीघ्र व्यवस्था गर्न भनेको हो । 

नेप्सेको निर्देशन कार्यान्वयनका लागि प्रत्येक दलाल सदस्यले कम्तीमा एककरोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको एक ब्रोकरले बिजशालालाई बताए । ती ब्रोकरका अनुसार नेप्सेले पठाएको निर्देशनमा प्रत्येक ब्रोकर कार्यालयले एकजना कम्प्युटर इञ्जिनियर, एक जना सिस्टम तथा नेटवर्क एडमिनिस्ट्रेटर र अरु २ जना आइटी सपोर्टतर्फ सहायक स्तरका कर्मचारी गरी न्यूनतम पनि कुल ४ कर्मचारी व्यवस्था गर्न भनेको छ । 

अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनका लागि नेप्सेसँग समन्वयका लागि स्टक ब्रोकर एशोसिएसनले गठन गरेको समितिका संयोजक सन्तोष मैनालीका अनुसार नेप्सेको निर्देशनको पालना गर्ने क्रममा ५० वटा ब्रोकरले न्यूनतम ५० करोडदेखि अधिकतम १ अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार पूर्ण अनलाइन कारोबार प्रणालीमा ब्रोकरहरुले आफ्नै डाटा सेन्टर राख्नुपर्नेछ । हाल धितोपत्र दलाल व्यवसायीले नेप्सेकै सर्भरमार्फत कारोबार गर्दै आएका थिए । हालसम्म नेप्सेले कारोबारको सम्पूर्ण डेटा सिंहदरबारमा रहेको सरकारको गभर्मेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जिआइडीसी)मा राख्दै आएको छ ।

नेप्सेको निर्देशन अनुसार दक्ष जनशक्ति र अन्य आवश्यक पूर्वाधार तयार गर्ने धितोपत्र दलाल व्यवसायीलाई प्राथमिकतामा राखेर टेस्टिङ गर्न दिइने र तत्काल नसक्नेले पुरानै सिस्टमबाट समेत कारोबार संचालन गर्न सक्नेछन् ।