काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गते(भोलि)देखि हुने खबरले लगानीकर्ता उत्साहित देखिएका छन् । यहीकारण चालु आर्थिक वर्षको अन्तिम दिन बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । लामो समयदेखि सुस्त रहेको बजार आर्थिक वर्षको अन्तमा दोहोरो अंकले बढेर आगामी दिन बजारका लागि स्वर्णिम बन्नसक्छन् भन्ने संकेत समेत दिएको विश्लेषकहरुले बताएका छन्। 

नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा फराकिलो बृद्धि भएको छ । नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्नु बजारको भविष्यका लागि सुखद पक्ष हो । यो प्रवृति केही दिनसम्म जारी रहे भविष्यमा बजारमा उछाल आउने कतिपयको दाबी छ । 

चालु आर्थिक वर्षमा धितोपत्र बोर्डले प्राथमिक बजारमा आमूल सुधार ल्याएको छ । यो अवधिमा दोश्रो बजारमा भने अपेक्षित सुधार हुन सकेन । तर, नयाँ आर्थिक वर्षसँगै लगानीकर्ताको प्रतिक्षाको बिषय बनेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ देखि नै निश्चित भएको छ । केही समय परीक्षणमा रहे पछि अनलाइन प्रणालीबाटै लगानीकर्ताले सम्पूर्ण कारोबारको काम गर्न सक्नेछन् । यो खबरले समेत लगानीकर्तालाई विशेष रुपमा उत्साहित बनाएको देखिएको छ । 

यहीकारण सोमबार नेप्से परिसूचक १२.२७ अंकले बढ्यो । यो दिन ‘क’ वर्गका कम्पनीहरुका कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.३९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०१ अंकले बढ्यो । 

यो दिन अन्य समूहको सूचकमा २.६७ अंकको गिरावट भए पनि बाँकी सबै समूहको सूचक बढेको छ । बैंकिङ समूह ६.०५ अंकले बढेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः १४७.०२, २४.५९ र १२.६२ अंकको बढोत्तरी देखियो । यो दिन होटल समूह ३२.२९ अंकले बढ्यो भने जलविद्युत समूहमा ५०.२३ अंक, बित्त समूहमा २.८८ अंक, उत्पादनमूलकमा ३२.५१ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड २० लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । यस्तै, नवील बैंकको २ करोड ६० लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा जनता बैंक नेपालले १ करोड ९३ लाख, प्राइम लाइफको १ करोड बढीको साधारण सेयर, कृषि विकास बैंक र चिलिमे हाइडोले समेत १ करोड बढीको कारोबार गरेका छन् । 

नवील बैंकको ९८ लाख बढीको साधारण सेयर समेत किनबेच भएको बजारमा इन्भेष्टमेन्ट बैंकले ९६ लाख बढी, ग्लोबल आइएमई बैंकले ८८ लाख बढी तथा नेपाल लाइफले ६९ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.५० प्रतिशतले वृद्धि भयो । यस्तै, एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले समेत ७.३९ प्रतिशतले सम्पत्ति बढाएका छन् । 

यो दिन ङादी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५.२३ प्रतिशतले घट्यो ।