-भक्तराज रसाइली

काठमाण्डौ । सेयर लगानीकर्ताको माग प्रस्तुत गर्दै आज(सोमबार)देखि आमरण अनसनमा बसेका लगानीकर्ताहरुले पूँजीबजार बिस्तारको बाधक देखिएकाहरुमाथि सोझै प्रहार गर्ने उद्घोष गरेका छन् । 

सेयर लगानीकर्ता दवाब समूहको तर्फबाट आमरण अनसन बसेका हरि ढकाल र तिलक कोइरालाले अब अर्थमन्त्री लगायत बजारसँग सम्बद्ध विभिन्न निकायका प्रमुखहरुको राजीनामालाई प्रमुखताका साथ प्रस्तुत गरेका छन् । 

उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासँगै नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका संचालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेको बर्खास्तीको माग राखेका छन् । 

'बजार संचालकको रुपमा नेप्सेको हर्ताकर्ता रहेको चन्द्रसिंह साउदको समेत बर्खास्तीको कुरालाई किन छाड्नुभएको ?' भन्ने पत्रकारको प्रश्नमा तिलक कोइरालाले भनेका छन्-'हामी अब नोकरहरुसँग होइन, मालिकसँग लडाई लड्छौ । लडाईको मैदानमा उत्रिएपछि मुख्य शत्रु र मालिकमाथि प्रहार गरिन्छ । नोकरमाथि प्रहार गरेर यो युद्ध जित्न सकिन्न ।' 

केही दिनअघि आमरण अनसन गर्ने भनी घोषणा हुँदाको समयमा दवाब समूहले निकालेको विज्ञप्तिमा भने नेप्सेका सीइओ चन्द्रसिंह साउदलाई समेत बर्खास्त गर्नुपर्ने माग राखिएको थियो । साउदविरुद्धको सो माग लगानीकर्ताले एकाएक छाड्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । 

यसैबीच, बिजशालासँग कुरा गर्दै आमरण अनसन बसेका कोइरालाले आफ्ना माग पूरा नभएसम्म अनसन नछाड्ने उद्घोष गरेका छन् । 'अर्थमन्त्रीले बनाएको अध्ययन समिति देखावटी मात्र हो, यसले माखो मार्नेवाला छैन ।' पत्रकार समेत रहेका कोइरालाले भने-'त्यो प्रतिवदेनमा काइते कुरा मात्र हुनेछन् र प्रतिवेदन कार्यान्वयन हुँदैन । अर्थमन्त्रीको इच्छाबिनाको एउटा शब्द पनि त्यहाँ पर्नेवाला छैन ।' 

उनले अध्ययन समितिको बैठकमा संयोजक तथा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले निर्देशन दिएको प्रसंग उल्लेख गर्दै भने-'त्यो समितिले केही गर्ला भन्नु साँढेको फल झर्ला र खाउँला भनेजस्तो मात्र हो।' 

उनले सरोकारवाला निकायहरुको बेवास्ताकै कारण आफूहरुले ज्यानको बाजी राखेर अनसनमा बस्नुपरेको दाबी समेत गरे । 

नेपालको इतिहासमै पहिलोपटक पूँजीबजारको विकास र सुधारका लागि सुरु भएको आमरण अनसनमा सहभागी अर्का पात्र तथा दवाब समूहका संयोजक हरि ढकालले बजार विकास र बिस्तारका बाधकहरुको पहिचान भइसकेको र उनीहरुको बर्खास्ती आफूहरुको पहिलो शर्त रहेको प्रष्ट्याए । मुख्य टाउकोहरुको बर्खास्तीसँगै आफूहरुले प्रस्तुत गरेको १४ बुँदे माग समेत यथावत रहेको उनको भनाई छ । 

उनीहरुले वार्ताको नाममा सरकारले आफूहरुमाथि घात गरेको, लगानीकर्ताबीच नै फाटो ल्याउने कोशिश गरेको भन्दै त्यसको कडा शब्दमा भत्र्सना समेत गरेका छन् ।