काठमाण्डौ । मुटु कमाउने जाडो । काठमाण्डौको तापक्रम ४ डिग्रीभन्दा तल जान खोजिरहेको समय । औधी जाडोबाट बच्न राजधानीबासी अरुबेला भन्दा चाँडै घर पुगिसक्छन्, ९ नबज्दै सुनसानजस्तो देखिने काठमाण्डौका सडकले यही संकेत गर्छ । तर, यही चिसो ठिहीसँग पौठेजोरी खेल्दै भद्रकालीस्थित टुकुचाको छेवैमा २ व्यक्ति अनसन बसिरहेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज अगाडिको टुकुचाको डिलमा पातलो पाल टाँगेर चिसो ठिहीमा संघर्ष गरिरहेका २ पात्र आफ्ना लागि नभई देशका १५ लाख सेयर लगानीकर्ताको हितका लागि अनसन बसिरहेका छन् । 

सोमबारदेखि सुरु भएको आमरण अनसनमा लगानीकर्ता दवाब समूहका संयोजक हरि ढकाल र लगानीकर्ता तथा पत्रकार तिलक कोइराला सहभागी छन् । उनीहरु भोकभोकै अनसन बसिरहेका भए पनि लगानीकर्ताको अपेक्षित सहभागिता भने हुन सकेको छैन । किन त ? मंगलबार राति अनसन नियाल्न पुगेको बिजशाला टिमका अगाडि अनसनकारी रेखदेख गर्न बसेका लगानीकर्तामध्येका एकले भने–‘यहाँ सबै लगानीकर्ता फेसबुकमा मात्र कराउने भए । फेसबुकमा ठूला कुरा गर्ने, तर अनसनलाई समर्थन गर्नका लागि एकपटक आउन पनि अल्छी गर्ने लगानीकर्ता धेरै भए ।’

लाखौं लगानीकर्ताको हितका बुँदासहित अनसनमा बसेका ढकाल र कोइरालाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । उनीहरु लखतरान भई अनसनस्थलमा लडिरहेका देखिए । 

‘स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।’ अनसनकारीको रेखदेख गर्नेहरुले भने–‘सरकारको नालायकीपन नहुँदो हो त उहाँहरुले यसरी अनसन बस्नुपर्ने अवस्था आउने थिएन होला ।’  

अनसन बसिरहेका ढकाल र कोइरालाले आफूहरुको आन्दोलनको विषयमा गलत ढंगले प्रचार गर्न खोजिएको दाबी गरे । ‘हाम्रो अनसन सेयरको मूल्य बढाउनलाई भनी दुष्प्रचार गरियो, केही मिडिया समेत चलखेल गर्नेहरुबाट परिचालन भएका देखियो ।’ कोइरालाले भने–‘हाम्रो अनसन असफल बनाउने कैयन प्रयास हुन थालेका छन्, तर हामी हाम्रा माग पूरा नहोउञ्जेल यहाँबाट उठ्दैनौ ।’

अर्का अनसनकारी हरि ढकाल मास्क लगाएर लडिरहेका देखिए । रातभरि टुकुचाको गन्धले गाह्रो बनाएको उनी बताइरहेका थिए । एकातिरको चिसो र अर्कोतर्फको दुर्गन्धले उनीहरुको स्वास्थ्य अवस्था अझै बिग्रिन थालेको त्यहाँ उपस्थित लगानीकर्ता बताउँछन् । 

अनसनकारी ढकालले आफू गत निर्वाचनमा सत्तासीन नेकपा(तत्काली एमाले)का लागि निर्वाचन परिचालन समितिको संयोजक भई चितवनमा खटिएको बताउँदै सरकार र अर्थमन्त्रीको गलत रबैयाविरुद्ध आज आफ्नै दलको सत्ताविरुद्ध लड्नुपरेको गुनासो गरिरहेका थिए । ‘हिजो पार्टीका लागि काम गरिरहेका हामीजस्ता कार्यकर्तामा त यति निराशा छ भने अर्थमन्त्रीको कदमबाट आम लगानीकर्ता र सर्वसाधारण कति आहात होलान् ?’ प्रश्न गर्दै उनले भने–‘यो निकै बिडम्बनापूर्ण अवस्था हो ।’ 

अनसनमा बस्नेहरु मात्र होइन, उनीहरुको परिवार र प्रियजनले समेत खाना खान छाडेको बिडम्बनापूर्ण अवस्था समेत देखियो । ‘आज हरिजीकी पत्नी अनसनमा आउनु भएको थियो, उहाँले पनि खाना खान छाड्नु भएछ ।’ एक लगानीकर्ता भन्दै थिए–‘घरमा उहाँकी आमाले पनि खान खानु हुन्न रे ।’ 

लगानीकर्ताले आफ्ना प्रियजनले समेत छाक छाडेको कुरा सुनाइरहँदा हरि ढकालको अनुहारमा तनाव छचल्कियो । तर, बलियो मन बनाउँदै उनले भने–‘बरु यही मरुँला, तर अनसन छाडिन्न । भोलिको दिनमा बजार विस्तार र विकासका मुद्धाहरु लिएर अरु कुनै लगानीकर्ता यसरी टुकुचाको डिलमा  अनसन बस्न नपरोस् ।’