काठमाण्डौ । सेयर लगानीकर्ताहरुले अनसन थालेपछि दवाबमा परेको अर्थमन्त्रालय तथा बजारको नियामक धितोपत्र बोर्डले समस्या पहिचानको प्रयास भइरहेको भन्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् । 

अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले आइतबार छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् । 

अर्थमन्त्रालयले अर्थमन्त्रीदारा गठित उच्चस्तरीय समितिको बैठक बसेको उल्लेख गर्दै मुद्रा तथा पूँजीबजारको समस्याप्रति आफूहरु गम्भीर रहेको संकेत गरेको हो । मन्त्रालयले मुद्रा तथा पूँजीबजारको पछिल्लो समस्याको अध्ययन गरी सुझाव पेश गर्न गठित समितिका संयोजक तथा नेपाल राष्टबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा आइतबार पहिलो बैठक बसेको प्रष्ट्याएको छ । बैठकमा मुद्रा तथा पूँजीबजारमा देखिएका समस्याको बिषयमा छलफल गरेको अर्थको विज्ञप्तिमा उल्लेख छ । 

आइतबारको बैठकले आ-आफ्नो क्षेत्रको समस्या समाधानको उपायसहित ल्याउन बैंकर्स संघ, लगानीकर्ताका प्रतिनिधिलाई जिम्मा दिएको अर्थका एक अधिकारीले बताए । सम्बद्ध क्षेत्रका अधिकारीहरुले समाधानको उपायसहितको समस्याहरु प्रस्तुत गर्ने गरी सो उच्चस्तरीय समितिको बैठक मंगलबारका लागि पुनः बोलाइएको छ । 

अर्थमन्त्रीबाट गठन भएको समितिले काम थालेको भन्दै अर्थले विज्ञप्ति प्रकाशित गरेको केहीबेरपछि पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले समेत एक विज्ञप्ति जारी गरेको थियो । 

बोर्डको विज्ञप्तिमा बजारको सुधार तथा बिस्तारका लागि र समस्याहरुको पहिचान गरी समाधानका लागि विगतमा थुप्रै प्रयास भएका उल्लेख गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरिएको छ । 

‘नेपाल सरकार र बोर्ड बजारका समस्याहरुप्रति सम्बेदनशील भई समाधानका लागि प्रयत्नशील रहेको हालको अवस्थामा लगानीकर्ताहरु तथा पूँजीबजार सम्बद्ध सवै पक्षहरुको संयमता तथा सहयोगको समेत बोर्डले अपेक्षा गरेको छ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ । 

बोर्डले सरकार र आफूहरुले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको दाबी गर्दै केही प्रगति विवरण समेत पेश गरेको छ । 

बोर्डले पेश गरेको प्रगति विवरण यस्तो छ–‘नेपाल सरकार र बोर्डले हालबजार विकास तथा सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाईएको सन्दर्भमा सरकारले बजेट मार्फत पूँजीबजारमा विगत केही वर्षहरुदेखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी स्थायित्व दिएको छ । बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहनमूलक नीति तथा कार्यक्रमहरु अगाडि बढाएको छ । धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा बिस्तार भइसकेको, दोस्रो बजारको कारोवार पूर्ण स्वचालित अनलाईन प्रणालीमा जाने क्रममा रहेको र दोस्रो बजारको दायरा अझै फराकिलो बनाउन बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा कार्यक्रमअनुसार संघीय संरचनाअनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला÷स्थानहरुमा(काठमाण्डौ उपत्यकाबाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन  बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)लाई निर्देशन दिइसकेको छ भने धितोपत्र बजारमा धितोपत्र व्यापारी(डिलर) लाई प्रवेश गराउन भइरहेको तयारीको सम्बन्धमा समेत नेप्सेसँग जानकारी माग गरेको छ । साथै वैकल्पिक लगानी कोष नियमावलीमार्फत प्राइभेट इक्यूटी, भेञ्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने कार्य अगाडि बढिसकेकोे छ भने मार्जिन टे«डिङ्ग शुरु गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।’