-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि लगानीकर्ताहरुले रिले अनसन थालेका छन् । 

सेयर बजार घटेर निरन्तर ओरालो लागी करोडौं रुपैयाँ स्वाहा भएपछि लगानीकर्ताहरुले सेयर बजार बिस्तार, बजार विकासका लागि बाधक मानिएका समस्या समाधान र पूँजीबजारप्रति सकारात्मक नभएका अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा लगायत १० बुँदे माग राखेर अनसन थालेका हुन् । 

सेयर लगानीकर्ताको स्वतन्त्र दवाब समूहबाट सुरु भएको अनसनप्रति लगानीकर्ताका विभिन्न संगठनले समेत ऐक्यबद्धता जनाएका छन् । त्यस्ता संगठनका प्रतिनिधि समेत अनसनमा सहभागी भइरहेका छन् ।

अनसन सुरु भएलगत्तै विभिन्न राजनीतिक दलबाट समेत ऐक्यबद्धता आउन थालेको छ । यसले लगानीकर्ताको अनसन अझ वृहत भई सरकारमाथि दवाब पर्ने देखिन्छ । 

लगानीकर्ताहरु आफ्ना मागसहितको प्लेकार्ड छातिमा टाँसेर नेप्सेको मूलगेट अगाडि अनसनमा छन् । लगानीकर्ताहरुको भीडमा एक ८२ वर्षे वृद्ध लगानीकर्ता पनि अनसन बसिरहेका छन् ।

विगत १८ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका बानेश्वर, बुद्धनगरका ८२ वर्षे ईश्वरीप्रसाद खनाल समेत अग्रपंक्तिमा अनसन बसिरहेका छन् । उनले बिजशालासँगको कुराकानीमा सेयर बजारलाई अर्थमन्त्री डा. खतिवडाले ध्वस्त पारेका आरोप लगाए । ‘हाम्रो सेयर बजारलाई किताब पढेर पिएचडी गरेका होइन, व्यवहार र जनता बुझेका व्यक्ति अर्थमन्त्रीको रुपमा चाहियो ।’ उनले भने–‘खतिवडा जीले किताबमा पिएचडी गर्नुभयो, तर व्यवहारमा जान्नुभएन । उहाँलाई अर्थमन्त्रालय हाँक्ने अधिकार अब छैन ।’ 

सेयरमा ४० लाख रुपैयाँ बढी लगानी गरेका उनले पूँजीबजारलाई अर्थमन्त्रीले सधैं कुदृष्टिले हेरेका र तल्लो वर्गलाई मात्र करको मार थोपरेर देशका सर्वसाधारणलाई आर्थिक भार थोपरिदिएका आरोप समेत लगाए । ‘तल्लो वर्गलाई करको भार थप्ने र उपल्लो वर्गलाई कर मिनाहा गर्ने यस्ता अर्थमन्त्री हामीलाई चाहिएन ।’ खनालले भने–‘ पहिलो अर्थमन्त्रीले राजीनामा दिनुपर्यो र सरकारबाट नेप्से सुधारका स्पष्ट खाका तथा कार्यक्रम आउनुपर्यो ।’ 

उनीसँगै ७२ वर्षीय हरिप्रसाद खनाल पनि अनसनमा छन् । बुद्धनगरबाटै आएका उनी पनि सेयर बजार बिस्तार र सुधारका लागि अनसनमा सहभागी भएको बताउँछन् । ‘लगानीकर्ताको सम्पत्ति सुरक्षामा अर्थमन्त्रीको कत्ति पनि ध्यान गएको देखिएन ।’ उनले भने–‘पूँजीबजार अर्थतन्त्रको मेरुदण्ड हो भन्ने कुरा राज्यले बुझेन।’ 

उनले बैंकहरुले आफूखुशी ब्याजदर बढाएर सेयर लगानीकर्तालाई अझै ध्वस्त बनाउन लागेका भन्दै आक्रोश पोखे । ‘अर्थमन्त्री नै राम्रो परेनन्, देशको अर्थतन्त्रलाई तहसनहस पारिसके ।’ उनले थपे–‘बरु यहीँ मरौंला, माग पूरा नभएसम्म अनसन छाडिन्न ।’ 

दश वर्ष प्रधानपञ्च चलाएका र जीवनमा लामो समयसम्म शिक्षक समेत भएका खनालले ०६३ सालदेखि सेयरबजारमा लगानी गर्न थालेका हुन् । उनले बजारमा करिब ६० लाख रुपैयाँ लगानी गरेका छन् । ‘वृद्ध अवस्थामा सेयरबाट आएको कमाईले औषधिउपचारमा खर्च गरौंला र आर्थिक सहायता होला भन्ने सोचेर लगानी गरियो ।’ उनले थपे–‘तर, सबै चौपट भयो, बर्बाद भयो ।’

यी दुई वृद्धसहित अन्य लगानीकर्ता समेत अनसनमा छन् ।