काठमाण्डौ । रिले अनसन बस्ने क्रममा मंगलबार बिहान पक्राउ परेका लगानीकर्ता केहीबेरअघि रिहा भएका छन् । 

शान्तिपूर्ण रुपमा रिले अनसन बस्न गएका सेयर लगानीकर्ता दवाब समूहसँग सम्बद्ध लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ रिहा गरिएको हो । 

दबाब समूहका महासचिव नयन बास्तोलाले माथिको आदेश भन्दै आफूहरुलाई प्रहरीले रिहा गरेको पुष्टि गरे । 

रिहा भएपछि बिजशालासँग कुरा गर्दै महासचिव बास्तोलाले आफूहरुले आजको दिनलाई सेयर बजारको इतिहासकै कालो दिन मानेको बताए । 

'हामीले दुःख गरेर कमाएको पैसा लगानी भएको क्षेत्र पुँजीबजारको विकास र यहाँभित्रको भद्रगोलको व्यवस्थापनका माग गर्नुपर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा अपराधीको जस्तो व्यवहार गरियो ।' उनले भने-'नेप्सेको अनलाइनमा भद्रगोल अवस्था छ । सोझा लगानीकर्ता दिनदिनै लुटिँदैछन्, योविरुद्ध आवाज उठाउनु हाम्रो गल्ती हो ?'

कुनै बेला सरकारका मन्त्रीहरुले नै सेयरबजारलाई जुवाघर भनेका उल्लेख गर्दै समूहका कुमार सिटौलाले भने-'आज साच्चै हामीलाई जुवाघरको  जुवाडे नै जस्तै ठानेर प्रहरीले दमन गर्यो ।'