काठमाण्डौ । भारतका लोकप्रिय योग गुरु बाबा  रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्णको सफलताको कथा कुनै किम्बदन्ती भन्दा  कम छैन । एक गरीब नेपाली चौकीदारको परिवारमा जन्मिएका बालकृष्णलाई हालै भारतको ५० शीर्ष अर्बपतिको फोब्र्स सूचिमा सामेल गरिएको छ । 

४४  वर्षका  आचार्य बालकृष्ण  भारतमा सबैभन्दा तेज गतिमा अघि बढिरहेको उपभोग्य सामान बनाउने कम्पनी  पतञ्जली आयुर्वेद लिमीटेडको प्रबन्ध निर्देशक हुन् । फोब्र्सका अनुसार आचार्य बालकृष्ण भारतका ४८ औं धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति अढाई अर्ब अमेरिकी डलर रहेको छ । 

उनको कम्पनीले स्याम्पूदेखि खाद्यान्न, साबुनदेखि नूडल्ससम्म, हरेक चिज बिक्री गर्छ । तर हरिद्वारस्थित नेपाली मातापिताको घरमा जन्मिएका अर्बपति आचार्य बालकृष्ण एक आम  जिन्दगी जिउँछन् र पतञ्जली आयुर्वेदको दैनिक कामकाज उनै सम्हाल्छन् ।

हरिद्वारस्थित आफ्नै आश्रममा बीबीसीलाई दिइएको एक अन्तर्वार्तामा उनले भनेका छन् कि कम्पनीको सम्पत्ति उनको  निजी होइन, बरु त्यो ब्राण्डको हो, जसले समाजको विभिन्न क्षेत्रमा  सेवा गरिरहेको छ । 

वृद्धि
आचार्य बालकृष्णले पतञ्जली आयुर्वेद लिमीटेडमा ९७  प्रतिशत स्वामित्वको साथ फोब्र्स सूचिमा यो वर्षको सेप्टेम्बरमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यो कम्पनीको स्थापना उनले सन् २००६ मा भारतका सबैभन्दा लोकप्रिय योगगुरु बाब रामदेवसँग  मिलेर गरेका थिए । 

रामदेव यो कम्पनीमा निजी हैसियतदेखि कुनै मालिकको हक राख्दैनन् । तर, हाइप्रोफाइल योगगुरु पतञ्जली आयुर्वेदको पर्याय हुन् । कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा रामदेवले यी उत्पादनहरुको प्रोमोसन र विज्ञापन गर्छन् । 

बालकृष्णका अनुसार अर्बपतिको सूचिमा आफ्नो नाम आउनु, पतञ्जलीप्रति भारतीय उपभोक्ताको बढ्दो भरोसाको प्रमाण हो, यो कम्पनी बजारमा करिब साढे ३  सय उत्पादनहरु  बिक्री गर्छ । 

उनले भनेका  छन्–‘कम्पनीको सम्पत्ति कसैको निजी सम्पत्ति होइन । यो समाज र समाज सेवाका लागि हो ।’ 

आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रस्टका महासचिव पनि हुन्, जसले करिब ५ हजार पतञ्जली क्लिनिकको रेखदेख गर्छ भने एकलाखभन्दा बढी योग कक्षा समेत संचालन गर्छ । 

बालकृष्ण पतञ्जली विश्वविद्यालयका कुलपति पनि  हुन् । जसको उद्देश्य जडीबुटीमा  आधारित दबाईसँग सम्बन्धित  शिक्षा(आयुर्वेद शिक्षा)को बिस्तार गर्नु हो । उनी पतञ्जली योगपीठको मुख्यालयको मुख्य महलमा बनेको अस्पतालको पहिलो तलास्थित सामान्य कार्यकक्षमा काम गर्छन् ।

उनको कार्यकक्षमा बाबा रामदेवको एक तस्विर, एक बौद्ध पेन्टिङ, केही  किताब र स्मारिकाका कारण आद्यात्मिक जस्तो लाग्छ । उनको कार्यकक्षमा कुनै कम्प्युटर वा ल्यापटप छैन, उनको भनाईमा उनीसँग यी चिजहरु छैनन् पनि । 

अर्बपति बालकृष्णकाअनुसार उनका सहयोगीले कम्प्युटरमा गर्नुपर्ने काम गर्छन् । कुरा गर्नका लागि उनले एक आइफोन प्रयोग गर्छन् । उनले आफ्नो कामबाट अहिलेसम्म एकदिन पनि  विदा लिएका छैनन् । 

बालकृष्ण भन्छन्–‘मेरो आफ्ना लागि कुनै योजना छैन । यसकारण यदि मैले छुट्टी नै लिएँ भने पनि के गर्ने ? म प्रत्येक दिन बिहानदेखि साँझसम्म काम गर्छु र आफ्नो उर्जा तथा सतप्रतिशत समय आफ्नो कामलाई दिन्छु ।’ 

आचार्य बालकृष्ण र बाबा रामदेव दुवैले ११ हजार कर्मचारी कार्यरत कम्पनीबाट कुनै तलब लिंदैनन् । 

बाल्यकाल
आचार्य बालकृष्णले आफ्नो बाल्यकाल नेपालको स्याङ्जा जिल्लामा बिताए । त्यहाँ उनले ५ कक्षासम्मको पढाई पूरा गरे । उनी भारतको हरिद्वारमा पैदा भए, जहाँ उनका पिता एक चौकीदारको रुपमा काम गर्थे । उनका मातापिता अझै पनि नेपालको पुस्तैनी घरमै छन् । 

भारत फर्किएपछि हरियाणाको खानपुरमा एक गुरुकुलमा पढ्ने क्रममा सन् १९८८ मा बाबा रामदेव र आचार्य बालकृष्ण मित्र बने । त्यसपछि निरन्तर रुपमा यी दुईले मिलेर काम  गरिरहेका छन् । २०११, जून महिनामा सीबीआईले बालकृष्णमाथि एक मुद्धा दायर गरेको थियो । उनीमाथि उनका शैक्षिक डिग्री र अधिकांश वैयक्ति कागजात फर्जी रहेका आरोप लगाइएको थियो । त्यसबेला उनको पासपोर्ट समेत फर्जी भएको जिकिर गरिएको थियो । 

बीबीसीसँग कुरा गर्ने क्रममा पनि बालकृष्णले ती सबै आरोपको खण्डन गर्दै आफूले केही पनि गलत काम नगरेको दाबी गरे । उनको दाबीअनुसार उनीमाथि लगाइएको आरोप र चलाउन खोजिएको मुद्धा यूपी सरकारको एक योजनाबद्ध षड्यन्त्र  थियो । 

उनले भनेका छन् कि उनीसँग वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्र रहेको छ । कागजातहरुलाई सम्हालेर राख्ने र जरुरी पर्दा त्यसलाई पेश गर्ने जिम्मेवारी विश्वविद्यालयको रहेको उनको तर्क छ । 

इण्डियन एक्सप्रेस अखबारमा छापिएको एक खबरका अनुसार २०१४  मा एनडीए  सरकार सत्तामा आएपछि आचार्य बालकृष्णमाथि दायर गरिएको मुद्धाको फाइल नै बन्द गरिएको थियो । उनका आलोचक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वदेशी उत्पादनलाई बढावा  दिने कुरा र स्थानीय ब्राण्डको बीच एक सम्बन्ध समेत देखिन्छ । 

तर आचार्य बालकृष्ण भने पतञ्जलीको  विकास र बीजेपी सरकारको बीच कुनै अन्तरसम्बन्ध  नरहेको जिकिर गर्छन् । उनको भनाईमा कम्पनी आजको अवस्थामा पुग्नु पछाडि दुई दशकदेखिको कठीन परिश्रम मुख्य कारण हो । 

जडीबुटी


पतञ्जलीको वेबसाइटमा आचार्य बालकृष्णको परिचय आयुर्वेद, संस्कृत भाषा र वेदको महान ज्ञाताको रुपमा रहेको  छ । यिनले जडीबुटी तथा आयुर्वेद  ज्ञानको बिषयमा कयौं शोधपत्र लेखेका छन् । बालकृष्णको भनाईमा पतञ्जलीले करिब १ सय वैज्ञानिकहरुलाई जडीबुटीको  शोधको काममा परिचालन गरिएको छ र जडीबुटीको एक विश्वकोष तयार गर्ने काम पनि भइरहेको छ । 

उनले हालसम्म ६५ हजार किसिमको जडीबुटीमाथि काम गरिसकेका छन्, जुन करिब डेढलाख पानाको हुन्छ । आचार्य बालकृष्णले भनेका छन्–‘ममाथि मेरी आमाको गहिरो प्रभाव रहेको छ र उनी नै मेरो प्रेरणाको स्रोत पनि हुन् । जडीबुटीको मेरो ज्ञानको  आधार मेरी आमाको घरेलु जडीबुटीको ज्ञान पनि हो ।’ पतञ्जली  योगपीठमा आचार्य बालकृष्णको जन्मदिन ‘जडीबुटी दिवस’को रुपमा मनाइने गरिएको छ । 

बीबीसीबाट भावानुवाद