काठमाण्डौ । सेलिब्रेटी बैंकर तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुलाई फोस मर्जर नभई स्वस्फूर्त मर्जरमा जान प्रोत्साहन गर्ने गरी सहुलियतको नीति आएको भन्दै खुशी व्यक्त गरेका छन् । 

‘मर्जरमा सहुलियत र सुविधा आएको छ । शाखा खोल्ने, स्प्रेड लगायतमा सहुलियत दिइने कुरा आएको छ । यसले मर्ज गर्ने वातावरण झनै सकारात्मक बनाइदियो ।’ उनले भने–‘मर्ज गरेनौ भने हामी यो गर्छौ, त्यो गर्छौ भन्नुभएन । गरेमा यो प्रोत्साहन दिन्छौ भन्नुभएको छ । म धेरै सकारात्मक छु ।’

नेपाल राष्ट्रबैंकले मर्जरमा सहुलियत नीति ल्याएसँगै नवील बैंक पनि मर्जरका लागि प्रोत्साहित बनेको उनको भनाई थियो । 

‘हामी राम्रो पार्टनर, राम्रो पाइसमा आयो भने मर्जरतर्फ अगाडि बढ्छौ । सहुलियत र प्रोत्साहनले झनै हामीलाई प्रोत्साहित गरेको छ ।’ उनले थपे ।
बैंकर शाहले वासेल थ्री लागू गर्ने कुराले वित्तीय स्थायीत्व र संस्थागत सुशासन अझ मजबुत बनाउने, तर यसको पूर्ण कार्यान्वयनका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । 

उनले मौद्रिक नीति अर्थतन्त्रलाई स्थायीत्व बनाउने खालको, बित्तीय क्षेत्रलाई अझ बलियो बनाउने र तरलताको उतारचढावलाई रोक्ने दिशातर्फ केन्द्रीत रहेको समेत बताए ।