काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको बित्तीय अवस्थाको समीक्षा रिपोर्टमा अनुत्पादक क्षेत्रमा बैंकहरुले उच्च लगानी गरेका देखिएको छ । 

बैंकहरुले अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध लगानी गरेकै कारण तरलता अभावको समस्या आएको भन्दै राष्ट्रबैंकले केही दिनअघि बैंकरहरुलाई भेटेर हायर पर्चेज कर्जा, सेयर धितो कर्जा तथा रियल स्टेट कर्जा तत्कालका लागि रोक्न कडा निर्देशन दिएको थियो । 

६ महिनाको समीक्षा अवधिको तथ्यांक हेर्दा बैंकहरुले बढी कमाउने लोभमा तरलतामै समस्या हुने गरी जथाभावी कर्जा परिचालन गरेका देखिएको छ । 

२०७३ असार मसान्तको तुलनामा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा उल्लेख्य विस्तार भएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म ओभरडाफ्टतर्फ २५९.२ अर्ब रहेको कर्जा यो वर्षको सोही अवधिमा बढेर ३४१.३ अर्बको उचाईमा पुुगेको छ । यस्तै, घरजग्गा कर्जा(व्यक्तिगत घरकर्जा समेत)मा २१९ अर्बको अघिल्लो वर्षको ६ महिनाको अवस्थामा व्यापक वृद्धि भई यो वर्ष २८६.३ अर्ब पुुगेको छ । 

हायर पर्चेजकर्जा अघिल्लो वर्ष ८५.१ अर्ब रहेकोमा यो वर्ष बढेर १४२.६ अर्ब रहेको छ । सेयर मार्जिन कर्जा समेत २७.६ अर्बबाट वृद्धि भई ४०.८ अर्ब पुुगेको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६.४ प्रतिशत (रु. ४ अर्ब ६२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.८ प्रतिशतले बढेको छ । 

तर, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १२.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १४.८ प्रतिशत र विकास बैंकहरुको ६.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ५.२ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।

उता, उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले केन्द्रीय बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चाहि समीक्षा अवधिमा बढेको देखिएको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ४ अर्ब ९० करोड र निर्यात कर्जा रु. ३७ करोड गरी कुल रु. ५ अर्ब २७ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. १ अर्ब ७० करोड र निर्याततर्फ रु. १६ करोड गरी जम्मा रु. १ अर्ब ८६ करोड पुनरकर्जा उपयोग भएको थियो ।

“क”, “ख” तथा “ग” बर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न बर्गमा न्यूनतम् ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मध्ये २०७३ पुस मसान्तसम्म क्रमशः ५.६ प्रतिशत, ६.५ प्रतिशत र ४.६ प्रतिशत कर्जा प्रवाह गरेका समीक्षा रिपोर्टमा उल्लेख छ ।